Logo

आज लकडाउनको ६१ औं दिन : उल्लंघनको क्रम रोकिएन, दैनिक हजारौं सवारी र उल्लंघनकर्ता नियन्त्रणमा

आज लकडाउनको ६१ औं दिन : उल्लंघनको क्रम रोकिएन, दैनिक हजारौं सवारी र उल्लंघनकर्ता नियन्त्रणमा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ६१ औं दिन हो । मंगलबारदेखि सरकारले जारी गरेको सातौं चरणको लकडाउन शुरु भएको छ । आइतबार सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउनको अवधि थपेको छ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्युसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ ।

६१औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । ८ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ५ सय १७ पुगिसकेको छ । संक्रमण थप जिल्लाहरुमा बिस्तार भएसँगै जनमानसमा त्रास उत्पन्न भएको छ ।

काठमाडौंमा संक्रमित देखिएसँगै काठमाडौं महानगरले काठमाडौंमा उच्च जोखिम बढेको भन्दै काठमाडौं प्रवेशका सबै नाका सिल गर्न माग गरेको छ । धनकुटा, खोटाङ, गुल्मी, दैलेखजस्ता जिल्लामासमेत संक्रमित भेटिएसँगै आधा नेपालमा संक्रमण फैलिएको छ ।

अर्कोतर्फ लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । लकडाउनको ६० औं दिन बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ७७५ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ६८३ दुई पांग्रे र ७२ चार पांग्रे रहेका छन् । यसैगरी पुराना तथा म्याद सकिएका ३४ वटा सवारी साधनका पास पनि ट्राफिक प्रहरीले होल्ड गरेको महाशाखाले जनाएको छ ।

लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ । लकडाउनको ५८ औं दिन बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ६९५ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ६४२ दुई पांग्रे र ५३ चार पांग्रे रहेका छन् । यसैगरी पुराना तथा म्याद सकिएका ५७ वटा सवारी साधनका पास पनि ट्राफिक प्रहरीले होल्ड गरेको महाशाखाले जनाएको छ । लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ ।

औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL