Logo

प्राधिकरणले गर्याे कर्मचारीसँग कार्यसम्पादन सम्झौता, समयमै काम सक्नेलाई बोनस देखि विदेश भ्रमणसम्म

प्राधिकरणले गर्याे कर्मचारीसँग कार्यसम्पादन सम्झौता, समयमै काम सक्नेलाई बोनस देखि विदेश भ्रमणसम्म



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालगंज क्षेत्रीय कार्यालय अन्तरगतका विद्युत वितरण केन्द्र तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण संचालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र संचालक भक्तबहादुर पुनले उक्त क्षेत्रका प्रमुखसँग को सम्झौता गरेका हुन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय कार्यालय प्रमुख मनोज कुमार सिंहसँग र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले १६ वितरण केन्द्र प्रमुखसँग सम्झौता गरेका छन् ।

प्राधिकरणले गत आर्थिक वर्षमा परीक्षणका रुपमा विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखसँग सम्झौता गरेको थियो । त्यसबाट चुहावट नियन्त्रण, सेवा सुधार र राजस्व असुलीमा राम्रो नतिजा देखिएपछि चालु आवमा मुलुकभरका ८ क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखसँग सम्झौता गर्ने योजना रहेको प्राधिकरणले जानकारी दिएको छ ।

कार्यक्रममा ऊर्जा मन्त्री पुनले सुशासनको जगमा मात्र विकास र आर्थिक समृद्धि हासिल हुने उल्लेख गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा दिन कार्यशैलीमा परिवर्तन गर्न र लामो समयदेखि अलपत्र रहेका ग्रामिण विद्युतीकरणका योजनालाई तत्काल सम्पन्न गर्न शाखा प्रमुखलाई निर्देशन दिए ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सुचांक निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै प्राधिकरणले हरेक क्षेत्रीय कार्यालय र त्यस मातहतका बितरण केन्द्रलाई चुहावट नियन्त्रण,औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य (टार्गेट)निर्धारण गरेर कार्य सम्पादनको हरेक चार÷चार महिनामा मूल्याङकन गर्ने भएको हो ।

हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था प्राधिकरणले गरेको छ । यसैगरि, टार्गेट हासिल गर्नेले पाएको नम्बर बढुवामा जोड्ने, विदेशमा आयोजना तालिम, सेमिनारमा जान प्राथमिकता दिने लगायतका गैर नगद प्रोत्साहन समेत पाउने छन् ।

प्राधिकरणले प्रमुखहरुलाई बितरण टान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने र कानुनी परिधिभित्र रहेर स्वतन्त्रपूर्वक काम गर्न दिने प्रतिबद्धता जनाएको छ ।

सम्झौताको अनुगमन र मूल्याङकनका लागि प्रभावकारी प्रणाली बनाइने प्राधिकरणले बताएको छ । गत असारसम्म प्राधिकरणको प्रणालीमा औसत २० दशमलव ४५ प्रतिशत विद्युत चुहावट छ । नेपालगंज र क्षेत्रीय कार्यालय अन्तर्गत गत असारसम्मको चुहावट १६ दशमलव ६५ प्रतिशत छ । चालु आवको दुई महिनामा चुहावट ११ दशमलव ९८ प्रतिशत छ । चालु आवमा विद्युत चुहावटलाई घटाएर औसतमा ११ दशमलव ६५प्रतिशत कायम गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL