Logo

एक महिनामै ४ अर्बका ठूला स्वदेशी उद्योग दर्ता, गोयल स्पातमा मात्रै २ अर्ब लगानी

एक महिनामै ४ अर्बका ठूला स्वदेशी उद्योग दर्ता, गोयल स्पातमा मात्रै २ अर्ब लगानी



काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामै ४ अर्ब रुपैयाँ बराबरका स्वदेशी लगानीका उद्योग दर्ता भएका छन । उद्योग विभागले सार्वजनिक गरेको भदौ महिनाको तथ्याँक अनुसार विभिन्न जिल्लामा स्थानीय लगानीमा ४ अर्ब ८० करोड २३ लाख रुपैयाँ बराबरका ठुला उद्योग दर्ता भएका हुन ।

अर्थ मन्त्री डा युवराज खतिवडाको पूँजीयोग्य क्षेत्रमा लगानी गरिनुपर्ने नाराले स्वदेशी लगानीकर्तालाई आकर्षित गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । उद्योग विभागमा भदौ महिनामा दर्ता भएका स्थानीय लगानीका ठुला ५ ओटा उद्योगमा सबैभन्दा बढी लगानी सुशिलकुमार शर्माको नाममा गोयल ईस्पात प्रालि दर्ता भएको छ । सो उद्योगले शतप्रतिशत स्थानीयको लगानीमा २ अर्ब कूल पूँजी रहेको स्टिल उद्योग विभागमा दर्ता गरेको हो । उद्योगले १ बर्षमा एमएस पाईप ५० हजार मेट्रिक टन, जिआई पाईप २ हजार मेट्रिक टन, विद्युतीय पोल ४ हजार मेट्रिक टन तथा विभिन्न सटरका पार्ट्सहरु ५ हजार मेट्रिक टन उत्पादन गर्ने उद्देस्यसहित उद्योग दर्ता गरेको हो ।
नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा स्थापना हुन लागेको उक्त उद्योगले १ सय २५ जनालाई रोजगार दिने बताइएको छ ।

यस्तै विभागमा दर्ता भएको दोस्रो ठुलो उद्योगमा अथर्व सिमेन्ट उद्योग रहेको छ । पिताम्वर गैरेले उद्योग विभागमा दर्ता गरेका उक्त उद्योगबाट ओपिसि सिमेन्ट १ लाख ५० हजार मेट्रिक टन, पिपिसी सिमेन्ट १ लाख ५९ हजार मेट्रिक टन तथा क्लिङ्कर ८८ हजार ९ सय ८० मेट्रिक टन बार्षिक उत्पादन गर्ने भएको छ । विभागका अनुसार उक्त उद्योगले २ सय ५० जनालाई रोजगार दिने भएको हो ।

यस्तै भदौ महिनामा तेस्रो ठुलो उद्योग दर्ता गर्न सफल तुल्सीदेवि अर्यालले ६० करोड रुपैयाँ कुल पूँजीको होटल दर्ता गरेकी छन । उनले बाँकेको कोहलपुरमा स्थापना गर्ने गरी १ सय ५० ओटा बेडसहितको होटल सेन्ट्रल प्लाजा संचालनमा ल्याउने भएकी हुन । उक्त होटलको शतप्रतिशत लगानी स्थानीयकै हुने बताइएको छ ।

भदौ महिनामै दर्ता भएका ठुला उद्योगमध्ये चौथो धेरै लगानीयुक्त ग्रेस फर्मासिउटिकल्स प्रालि दर्ता भएको छ । बार्षिक २ करोड ५० लाख ट्याब्लेट, १ करोड क्याप्सुल, २ लाख लिटर झोल औषधि तथा २० हजार किलो अन्य सामानहरु उत्पादन गर्ने लक्ष्यसहित उक्त औषधि उद्योग दर्ता भएको हो । ४५ करोड ५३ लाखको कुल पूँजी रहेको उक्त उद्योग रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थापनाका लागि दर्ता भएको छ ।

नवलपराशीको रामग्राममा अर्काे एउटा ठुलो उद्योग स्थापनाका लागि विभागमा दर्ता भएको छ । २४ करोड कुल लगानी रहेको उक्त उद्योग स्टिलका पाईप तथा खियारहित पाईप उत्पादनका लागि दर्ता भएको हो । अनुप कुमार यादवद्धारा टेन स्टिल्स प्रालिको नाममा दर्ता भएको उक्त उद्योगले बार्षिक १२ हजार मेट्रिक टन मिस्ट स्टिल पाईप तथा ६ हजार मेट्रिक टन खियारहित स्टिलको पाईप उत्पादन गर्ने भएको हो ।

साथै भदौ महिनामा दर्ता भएका उक्त ५ ओटा ठुला उद्योगले ७ सय ५६ जनालाई रोजगार सिर्जना गर्ने विभागले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL