Logo

त्रिशुली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम २ महिना भित्र सक्न निर्देशन, ४८ प्रतिशत सम्पन्न

त्रिशुली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम २ महिना भित्र सक्न निर्देशन, ४८ प्रतिशत सम्पन्न



काठमाडौं । नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनुपर्नेमा हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो ।

भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचनामा बनाइएको उक्त प्रशारण लाइनबाट त्रिशुली ‘ए’को विद्युत काठमाडौं ल्याइनेछ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, उर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकार्य निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाईनको सिभिल संरचना निर्माणको बाँकी काम २ महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा २ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । निर्माणका लागि अहिले २ सय ७० श्रमिक परिचालित छन् ।

रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए ।

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारण लाइनको रुट केही परिर्तन हुँदा काट्नु पर्ने रुखको संख्या घटेर ३ सय ३६वटा पुगेको छ ।

रुख कटान स्वीकृतिका लागि फाइल वन विभागमा पुगेको छ । भूमिगत लाइनका लागि सडक खनिएकाले वर्खाको बेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् ।

माथिल्लो त्रिशूली एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । त्यसले पनि प्रसारण लाइन सोही अवधिभित्र बनासक्नु दवाव छ । ४५ किलोमिटर प्रसारण लाइनको १ सय ४० वटा टावरमध्ये १ सय २७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए ।

यो प्रसारण लाइन आगामि दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL