Logo

माथिल्लो तामाकोशी आयोजनामा कर्मचारीको लापर्वाही, समयमै निर्माण सम्पन्न हुनेमा आशंका

माथिल्लो तामाकोशी आयोजनामा कर्मचारीको लापर्वाही, समयमै निर्माण सम्पन्न हुनेमा आशंका



माथिल्लो तामाकोशी जलविद्युत् आयोजना कर्मचारीका कारण निर्धारित समयमै सम्पन्न नहुने भएको छ । ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको काममा कर्मचारीको लापरवाहीका कारण समयमै सम्पन्न हुनेमा स्थानीय बासीले आशंका ब्यक्त गरेका छन ।

सो आयोजनामा जति ढिलाई गर्यो त्यतिनै कर्मचारीलाई फाईदा पुग्ने देखिए पछि कर्मचारीले काममा ढिलाई गर्ने गरेकाले समयमै आयोजनाको निर्माण कार्य पूरा नहुने स्थानीयवासीको आरोप छ । ३ वर्षअघिदेखि नै प्रत्येक वर्षको असार मसान्तमा आयोजनाको निर्माण कार्य पूरा हुन्छ भन्दै आएका कर्मचारीले आफ्नो जागिर लम्ब्याउने खेतीमा लागेको नागरिक समाजका अगुवा भवीन्द्र कार्कीले बताए ।

‘यस पटक पनि २०७७ साल असार मसान्तमा विद्युत् उत्पादन हुन्छ भन्ने ढाँटको खेती गरिरहेको छ’, उनले भने, ‘जनताले बुझाएको राजस्वको उपहास गर्दै उक्त आयोजनालाई केही कर्मचारीले ठगी खाने भाँडो बनाएका छन् ।’ उनले जनताले खाई नखाई जगेर्ना गरेको सेयर रकमको समेत बेवास्ता गरिएको बताउँदै आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको तल्लो ठाडो सुरुङ र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काममा ढिलाइ भइरहेको बताए ।

दोलखाली जनताले नबुझेर आफूहरुलाई आरोप लगाएको र उक्त आरोप सत्य नभएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन । ‘पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा–व्यवधान नआए २०७७ साल असार मसान्तभित्र विद्युत् उत्पादन हुन्छ’, उनले भने, ‘वैशाख महिनाभित्र तल्लो र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काम गरिसक्छौं ।’

नौ महिनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक पाइप जडान सम्पन्न हुनुले असार मसान्त सम्ममा परीक्षण उत्पादन सुरु हुने कुरा प्राविधिक र व्यावहारिक रुपमा पनि असम्भव देखिएको छ । आयोजनाको लागत ७० अर्ब रुपैयाँ माथि पुग्ने अनुमान प्रवक्ता न्यौपानेको छ । उनका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करीब ५० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्चलगायतका कारण आयोजना पूरा हुँदा आयोजनाको लागत ७५ अर्बभन्दा केही बढी हुन सक्ने प्रवक्ता न्यौपानेले बताएका छन । समग्रमा आयोजनाको प्रगति ९९ दशमलब ४ प्रतिशत पुगेको आयोजनाले जानकारी दिएको छ । आजसम्ममा ३७३ मिटरको तल्लो ठाडो सुरुङमा २२० मिटर र ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा १३० मिटर पेनस्टक पाइप जडान भइसकेको छ ।

लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनीयरिङले काममा ढिलाइ गरेपछि उक्त आयोजना, टेक्सम्याको र एन्ड्रिजबीचमा त्रिपक्षीय सम्झौता भई तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम एन्ड्रिजलाई दिइएको थियो ।

सुरुङ तथा पेनस्टक पाइपको परीक्षण सफल गरी असार मसान्त सम्ममा विद्युतगृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन सुरु गर्ने र बाँकी ५ वटा युनिटमा गर्दा असोज महिना लाग्ने न्यौपानेको भनई छ आयोजनाको विद्युत गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा रहेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL