Logo

सिएमसीसँग ठेक्का तोडेपछि तनहुँ जलविद्युतको नयाँ टेण्डर आह्वान, बाँध र सुरुङ बनाउनुपर्ने

सिएमसीसँग ठेक्का तोडेपछि तनहुँ जलविद्युतको नयाँ टेण्डर आह्वान, बाँध र सुरुङ बनाउनुपर्ने



काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँ जलविद्युत आयोजना निर्माणका लागि पुनः टेण्डर आह्वान गरेको छ । कम्पनीले १ सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको हो ।

laxmi

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले विहीबार पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएको छ ।

निर्माण व्यवसायी कम्पनीले आयोजनाको १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एसियाली विकास बैक (एडीबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ ।

टेण्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरुले दातृ निकाय एडीबीको खरिद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीप कुमार थिकेले जानकारी दिए ।

‘पहिले प्राविधिक प्रस्ताव मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ’ प्रवन्ध–सञ्चालक थिकेले भने, ‘कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’ आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले सीएमसीसँगको ठेक्का तोडेको थियो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL