Logo

यस कारण भयो ग्लोबल बैंकको एकै दिन ६१ करोडको कारोबार, नेप्से ७ अंकले घट्दा कारोबार डेढ अर्बमा सीमित

यस कारण भयो ग्लोबल बैंकको एकै दिन ६१ करोडको कारोबार, नेप्से ७ अंकले घट्दा कारोबार डेढ अर्बमा सीमित



काठमाडौं । नेप्सेमा बुधबार ग्लोबल आईएमई बैंकको एकैदिन ६१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । तत्कालीन हाथवे फाइनान्स र जनता बैंकका लगानीकर्ताको लामो समयदेखि होल्ड भएर बसेका सेयरको कारोबार खुल्दा बुधबार एकैदिन ग्लोबल आइएमई बैंकको धेरै कारोबार भएको हो ।

मर्जर तथा एक्विजिशनका कारण लामो समयदेखि रोकिएर बसेको सेयरको कारोबार खुलेपछि बिक्रीकर्ताको चाप देखिएको हो । ग्लोबल आईएमई बैंकसँग २०७५ चैतमा एक्विजिशनमा जाने सम्झौता गरेसँगै हाथवे फाइनान्सको सेयर कारोबारमा रोक लागेको थियो । यस अघि नै यी दुई संस्थाबीच एकीकृत कारोबार भएपनि कात्तिक ८ गते ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जरका कारण उक्त सेयर खरिदबिक्री हुन पाएको थिएन ।

लामो समयदेखि कारोबार हुनबाट रोकिएको हाथवे फाइनान्सको सेयर र मर्जरपछि कारोबार खुल्दा तत्कानी जनता बैंकका लगानीकर्तालाई ३३ प्रतिशत नाफा आएपछि दुबै संस्थाका लगानीकर्तामा बिक्री चाप देखिएको थियो । बुधबार घटेको बजारमा लगानीकर्ताहरुले ग्लोबल आईएमईको सेयर मूल्य बढाए पनि खरिद चाप देखिएको छ ।

बुधबार ७ अंकले घटेको नेप्सेमा १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा ग्लोलब आईएमई बैंकको मात्र ६१ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

बजारमा जीवन बीमा समूह बाहेक अन्य सबै समुहका परिसूचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल, उत्पादनमुलक र निर्जीवन बीमा समुहको परिसूचक २३-२३ अंकले ओरालो लागेका छन् । यसैगरी बजारमा सबैभन्दा बढी हिस्सा ओगटेको बैंकिङ समुहको परिसूचक पनि ८ दशमलव ६१ अंकले ओरालो लागेको छ । तर घट्दो बजारमा जीवन बीमा समुहको परिसूचक भने १६२ अंकले बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL