६ महिनालाई पुग्ने औषधि छ, अभाव भनेर दुष्प्रचार भयो

hari bhakta sharma deurali janata

भारतले सिटामोललगायत विभिन्न खालका २६ प्रकारका औषधि निर्यातमा रोक लगाएसँगै नेपालमा औषधिको कृतिम अभाव देखिएको छ । भारतले निर्यातमा रोक लगाएसँगै त्यसको अभाव हुनेभन्दै होलसेलदेखि खुद्रा पसलसम्म औषधि किन्नेको भीड लागेको छ भने विरामी नै नभईकन पनि उपभोक्ताले औषधि किनेर स्टकमा राख्न थालेका छन् । हाल भारतले रोक लगाएको औषधि उत्पादनका लागि नेपाली उद्योगीहरुनै सक्षम भएपनि सरकारले नेपालमै त्यस्ता औषधि उत्पादन गर्न प्रोत्साह गर्नुको सट्टा भारतलाई नै औषधि निर्यातमा रोक नलाउन अग्रह गर्दै आएको छ । तर, उद्योगीहरुभने अहिले औषधिको अभाव नहुने र सरकारले चाहेको खण्डमा भारतले रोक लगाएको औषधिहरु जति पनि उत्पादन गर्न सकिने बताउँदै आएका छन् । यसै विषयमा केन्द्रित रहेर नेपाली औषधि उद्योगको अग्रणी नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष तथा देउराली जनता फमास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मासँग बिजखबरले गरेको कुराकानीको सार :

केही विशेष बाहेकका औषधिमा आत्मनिर्भर छौं भन्ने तर नयाँ परिस्थिति सिर्जना भयो कि बजारमा औषधिको नपाईने अवस्था बारम्बार किन आउँछ ?

नेपाली बजारमा औषधिको कुनै अभाव छैन । यसमा हामी क्लियर हुनुपर्छ । नेपालमा भएको र नेपाली कम्पनीहरुले बनाउने औषधिहरुको कुनै अभाव छैन ।
पछिल्लो समय फैलिएको कोरोना भाईरसका कारण बजारमा कुनै समस्या सिर्जना भयो भने सरकारले औषधिको क्वान्टीफिकेसन गर्नुपर्छ । यदि अभाव भैहाल्यो भने सरकारले नै कुन देशबाट कति औषधि कति ल्याउने भन्ने बारे समेत क्वान्टीफिकेसन बनाउन सक्छ । यसको यकिन नभई नेपालमा औषधिको अभाव भयो भन्न सुहाउँदैन । तर, बजारमा नेपालमा उत्पादन हुने औषधिको धेरै ठूलो अभाव छैन । हामीले चाहिनेजति दिन सक्छौं ।
केही औषधि नेपालमा पाईँदैन त्यस्ता औषधिका लागि भने सरकारले बजारमा यस्तो औषधि कति छ र कति आवश्यक पर्छ जस्ता कुराको डाटाबेस बनाउनुपर्छ । त्यहीं अनुसार विभिन्न देशबाट ल्याउनलबिङ गर्नुपर्छ । जसमा उपभोक्ताले चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।तर, नेपालमा बन्ने औषधिहरुको हकमा भने कुनै अभाव हुँदैन ।

भारतले निर्यात प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिहरुको अवस्था नेपालमा के छ ?

तपाईँहरुले भनेजस्तो भारतले प्रतिबन्ध लगाएको कच्चा पदार्थ हाम्रो कम्पनीले भारतबाट किन्दैन । त्यसकारण हामीले अन्तै स्रोतहरुबाट कच्चा पदार्थ ल्याउने हुनाले हामीसँग पनि ती औषधिहरु छन ।
हामी जति पनि दिन सक्छौं । तर नेपाली बजारलाई सोचेभन्दा धेरै औषधि चाहिने भयो भने त्यसका लागि पनि नयाँ तरिकाले प्रोजेक्सन गर्नुपर्छ । नेपाली बजारलाई कति औषधि चाहिने हो भनेर प्रोजेक्सन गर्नुपर्छ । त्यसपछि मात्रै हामीले बजारको मागलाई धान्ने गरी उत्पादन दिन सक्छौं । तर कोरोना भाईरसका कारण नेपाल पनि संक्रमित हुन पुग्यो भने त्यसलाई चाहिने केही बस्तुहरु भने आयात गर्नुपर्ने हुनसक्छ । त्यसका लागि लिस्टीङ नै गर्नुपर्छ । औषधि मात्रै नभनेर मास्क, डाक्टरहरुले लगाउने पन्जा, सिरिन्ज लगायतका बस्तुहरुका लागि भने सोही अनुसारको तयारी गरिनुपर्छ ।

कोरोना भाईरस संसारमा पहिलोचोटी भेटिएको भाईरस हुनाले यसका लागि विश्वबजारमा विशेष उपकरणहरु बनेका छन् जसलाई नेपालमा ल्याउनका लागि निजी क्षेत्र र सरकार लागिपर्नुपर्नेछ । जसमार्फत नेपालमा यसको प्रकोप रोकथाम र चेकजाँच गर्न सजिलो हुनेछ । तर, हामीहरु पनि यसमा सजग हुनु जरुरी छ ।

बजारमा औषधि नपाईने होकी भन्ने त्रास फैलिएको छ । यसले गर्दा एक बर्षलाई चाहिने औषधि उपभोक्ताले एकैचोटी किनेको भन्नेसम्म सुनिएको छ । के कारणले यस्तो अभावको हल्ला फैलियो होला ?

हामीले त बजारमा जति पनि औषधि छ भनेर सुचना निकालिरहेका छौं । तर जनतालाई अझै सूचना नपुगेको अवस्था छ । सरकारले पनि उपभोक्ताका लागि सकारात्मक सूचना सम्प्रेषण गरिराख्नुपर्छ । हामीसँग त्यस्तो अभाव भईसकेको छैन । यसको दुष्प्रचार भएर मात्रै बजारमा अभावको हल्ला चलाईएको हो जस्तो लाग्छ ।

नेपाली औषधि उद्योगहरुले बजारमा धेरै माग भएको मास्क र सेनिटाईजर समेत बनाउन नसक्ने रहेछन् है ?

यी बस्तुहरु औषधिको क्याटेगोरीमा पर्दैनन । यिनीहरु सर्जिकल उपकरण समुहमा पर्दछन । तर पनि यिनीहरु स्वास्थ्यसम्बन्धित बस्तुहरु नै हुन । तर नेपालमा यी बस्तुहरुको खपत बढी हुन्छ र सबै आयात नै गर्नपर्छ भने यसमा पनि अब केही सोच्नुपर्ने बेला आएको छ । हामीले अब यस्ता बस्तुहरु नेपालमै उत्पादन गर्नेगरी काम अघि बढाउनुपर्दछ ।

यसको विषयमा सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादनको वातावरण बनाउनुपर्छ । नेपालमा उत्पादन भएजस्तो मलाई लाग्दैन तर नेपालमा बनाउन सकिने सम्भावना प्रशस्तै छ ।
बजारमा सेनिटाईजर र मास्क नभएर सबै काम रोकिएको छ भन्ने पनि छैन । हामीले मास्क पनि चौबिसै घण्टा लगाईराख्नुपर्छ भन्ने छैन । मास्क भनेको डाक्टरहरुले बिरामी जाँच गर्दा र भिडभाडमा जाँदा मात्रै लगाए पुग्छ । यस्तो प्रकारको सूचना सरकारले पनि फैलाउनुपर्छ । यस्ता कुरामा उपभोक्ता पनि आफै सचेत हुनुपर्छ । हाम्रो पिँढीलाई यस्तो प्रकारको प्रकोप आएको थिएन । हामीभन्दा अघिल्लो पिँढीमा आएपनि हाम्रो पिँढीमा भने यो नयाँ नै हो । यसका लागि हामीले डराएर भाग्नुभन्दा पनि बुद्धिमानी तरिकाले यसको नियन्त्रण र समाधान गर्नुपर्छ । यसका लागि सरकारले पनि यसका राम्रै सूचना प्रचार गर्नुपर्छ र निजी क्षेत्रले पनि सोही अनुसार गर्नुपर्छ ।
हामीले अहिले बार्षिक २५ देखि ३० अर्बको औषधि आयात गरिरहेका छौं भन्ने तथ्यांक छ ।

अत्यावश्यक अवस्थामा अरु मुलुकले औषधि निकासीमा रोक लगाउने देखियो । यस्तो अवस्थामा आयात प्रतिस्थापनको सम्भावना कति छ ?

महाभुकम्पको समयमा भारतले नाकाबन्दी गरेपछि हामी नेपाली कम्पनीहरुले नेपालमा औषधि उत्पादन गरेका थियौँ यसलाई बिर्सनु हुँदैन । हामीले क्षमता भएसम्म चाँडै औषधी उत्पादन गरेर वितरण गर्न सक्छौं । त्यसकारण नेपाल सरकारले पनि स्वदेशी औषधि उत्पादकको संरक्षण संवद्र्धनमा उत्तिकै ध्यान दिनुपर्छ । यसका लागि अलिकति नीतिगत स्पष्टता ल्याउन जरुरी छ ।
नेपाल खुला अर्थतन्त्रमा आधारित भएकाले नेपालको सोच नै अर्थतन्त्र आयातमुखी बनाउनुपर्छ भन्ने किसिमको छ । जसका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्थाको सिर्जना भईरहेको छ । नेपालमा आयात नीतिहरु धेरै सहज छन् । ती सहज नीतिका कारण नेपालका उद्योगधन्दा टिकाउन कठिन भएको छ । जसका लागि सरकारले आयात नीतिलाई कडाई नगर्दासम्म नेपालका उद्योगधन्दाहरु फस्टाउन तथा जगेर्ना गर्न गाह्रो परिरहन्छ । यसका लागि निजी क्षेत्रले लगानी बढाउने र सरकारले पुराना नीतिलाई प्रभावकारी ढंगले सुधार गर्दै लैजाने कामहरु गर्नुपर्ने देखिन्छ ।


त्यसो भए आयात प्रतिस्थापनमा सरकारका केही नीतिहरुले बाधा पुर्याईरहेका छन भन्न खोज्नुभएको हो ?

हो यस्ता कुरामा धेरै हदसम्म सरकारका नीतिले प्रभाव पार्छन् । विश्वबजारमा हेर्ने हो भने पनि, नेपाल यत्तिकै पछि परेको हैन हाम्रा नीतिहरुमा केही परिवर्तन गर्न जरुरी छ । उद्योगीलाई उद्योगमैत्री तथा उत्पादनमुखी नीति बनाउन जरुरी छ ।
नेपालमा व्यापारमूखी नीतिहरु प्रशस्तै छन् । हामीले आयात गरिएका बस्तुहरु बेच्ने काम गरिरहेका छौं जुन सजिलो कामको रुपमा लिईन्छ । उत्पादन गर्ने भनेको गाह्रो काम हो ।

औषधि उद्योगीले हरेक वर्ष उद्योगमा लगानी बढारहेका छन् । आन्तरिक खपत बढेर हो वा निर्यातको सम्भावना देखेर ?

जुन देशमा अहिले पनि ५५ प्रतिशत आयात हुन्छ त्यस्तो देशमा पहिलो कुरा त आयात प्रतिस्थापन नै प्रमुख काम हो । तर भविष्यमा नेपालको उद्योगधन्दालाई सफल बनाउ र अन्तरराष्ट्रिय बजारमा पुर्याउन सरकारको सहयोग त पक्कै पनि चाहिन्छ ।
एउटा स्टेजमा नपुगि अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रिन सहज हुँदैन । अहिले पनि नेपालमा आफ्नै उत्पादन छैनन । पछिल्लो समय औद्योगिक समस्याहरु झन् बढ्दै गएका छन् । हामीले तीन तहको सरकार त ल्यायौँ तर सिस्टम ल्याउँदा निजी क्षेत्रलाई यसको लागत बढेको छ । हाम्रो खर्च अत्याधिक उच्च भएपछि हामी विश्व बजारमा कसरी प्रतिस्पर्धा गर्न सक्छौं ?

कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने अन्य बस्तुका लागि भन्सार शुल्क अत्याधिक छ भन्ने गुनासो सुनिन्छ नि ?

औषधि भारतबाट आयात गर्दा सरकारले ४ प्रतिशत भन्सार दर लगाएको छ । औषधिको केही कच्चा पदार्थको भन्सार मूल्य ४ प्रतिशतभन्दा कम पनि छ । तर हामीहरुलाई एउटा मात्रै कच्चा पदार्थले पुग्दैन । उद्योगमा अन्य थुप्रै कुराहरुको आवश्यकता छ जुन विदेशभन्दा नेपालमा महंगो पनि छ ।
त्यसैले हामीले सरकारसँग औषधि उद्योगलाई अन्तररष्ट्रिय स्तरमा पुर्याउन उद्योगलाई जे जे कुराहरु आवश्यकता पर्छ ति कुराका लागि सहज वातावरण बनाउन न्युन भन्सारमा आयात गर्न दिनुपर्छ भन्ने सुझाव राखेका छौं । किनकी औषधिमा जम्मा ४ प्रतिशत भन्सार लाएर भारतबाट आउँछ जुन नेपालको आयातको करिब ९०/९५ प्रतिशत हो ।
त्यसैले हामीले आन्तरिक उत्पादनमा केही सुधार गर्नु जरुरी छ । अहिले विश्वभर फैलिएको कोरोना भाईरसका कारण पनि सरकारले केही पाठ सिकेको छ । हामी निजी क्षेत्रले पनि पाठ सिकेका छौं । अभाव भयो भने ठूला देश लगायतका साना देशमा कस्तो असर पर्छ भन्ने बारे हामी पुर्ण शिक्षित भएका छौं ।

नेपालमा ठुला रोगका लागि भ्याक्सीन उत्पादन गर्ने उद्योगहरु आउन नसक्नुको कारण के हो ? लागत बढी भएर हो?

संसारका ठूला निजी कम्पनीलाई नेपालमा खुला प्रतिस्पर्धामा उतारिएको छ । यस्तो भ्याक्सीन बनाउन महंगो प्रविधि र बजार पनि सोही अनुसारको चाहिन्छ । हामीकहाँ यसको बजार पर्याप्त छैन । कतिपय भ्याक्सीनहरु विदेशी दाताले समेत नेपाललाई उपलब्ध गराएका छन । हामीले भ्याक्सीन बनाएपनि ठुला भ्याक्सीन बनाउन गाह्रो पर्छ जुन लजिकल पनि छ । त्यसपछि हामी पनि भ्याक्सीन बनाउन थाल्छौं तर पहिलो कुरा त हामीले त्यस्ता खालका उद्योगलाई प्रवद्र्धन गर्ननीतिगत सुधार गर्नु जरुरी छ ।

नेपालमा यस्ता ठूला भ्याक्सीन उद्योगको सम्भावना एकदमै कम छ । महंगो प्रविधि र उपकरणलाई धान्ने बजार नेपालमा छैन । त्यसैले नेपालमा भ्याक्सीन बनायो भने निर्यातको बजार खोज्नुपर्छ जुन सम्भव छैन । तर नेपालको लागि मात्रै भ्याक्सीन बनाउन थाल्यो भने त डुबिएला नी ।

नेपाली औषधि उद्योगहरुले धेरै नाफा लिए भन्ने गुनासो छ नी ? बास्तविकता के हो ?

औषधि महंगो भयो भन्नुभन्दा पहिलानेपालको औषधि कहाँको भन्दा बढी भयो भनेर मुल्यांकन गर्न अनुरोध गर्दछु । पहिलो कुरा त नेपालमा औषधि राम्रो बनाउने विधि बनाउनुपर्छ । नेपालमा उत्पादन हुने औषधिको न्युनतम मापदण्ड तोक्नुपर्याे र विदेशबाट नेपालमा आउने औषधि पनि गुणस्तरिय हुनुपर्याे भन्ने गरी सरकारले एक संयन्त्र बनाउनुपर्छ । नेपाली औषधि भारतको भन्दा सस्तो छ, बंगलादेशको भन्दा धेरै सस्तो छ, पाकिस्तानको भन्दा व्यापक सस्तो छ ।

कम गुणस्तर भएका औषधि उद्योगले नेपालको बजारलाई डम्पीङ गर्न खोजेको अवस्थामा भने नेपाली औषधि त्यसको तुलनामा महंगो पर्ला तर बजारको हिसाबले हेर्ने हो भने नेपालको औषधि कम सस्तो छैन । त्यसमा पनि एक दुईओटा कम्पनीले बढी लिएको भए सरकारले सुक्ष्म तरिकाले हेरेकै छ । सरकार आफैले मूल्य नियन्त्रण गरिरहेको छ । पछिल्लो समय मूल्य रिभिजन नगर्ने प्रवृत्तिले पनि नेपालको बजारमा केही अप्ठ्यारो भने भएको छ । यसले नकारात्मक असर पारिरहेको छ ।

गुणस्तरिय औषधि नेपालमा भित्र्याउन पर्छ भन्ने लबिङ गर्न नसक्नु भएको हो ?

नेपालको निजी क्षेत्रले गुणस्तरिय औषधि आयातका लागि लबिङ नगरेको होईन । धेरै गरेको छ । तर नीति बनाउने कुरामा भने सरकारले हेर्ने हो । नीति बनाउने विधायिकाले हो । विधायिकाले बनाउने कानुन र नीति बनाउने सरकारबीच समन्वय नहुँदा पनि केही समस्या आएको जस्तो मलाई लाग्छ । यसको समन्वय नभईकन नेपालमा औद्योगिक विकास हुन्छ भनेर यसै भन्न सकिँदैन । यदी उद्योगीलाई सरकारले साथ दिएमा जनतालाई गुणस्तरिय र प्रतिस्पर्धी मूल्यमा औषधि दिने जिम्मेवारी हाम्रो हो ।

हामीले पनि निःशूल्क पाएको औषधि यत्तिकै खाँदैनौं । किनकी हामीलाई पनि गुणस्तरियतामा शंका छनी । नेपालको औषधिमा ढुशी लागेर बिग्रियो भनेर समाचारहरु आएकै हुन नी । हामी समस्या देख्छौं तर समाधान तिर लाग्दैनौं । हामीले अन्तरराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नु भनेको खेलाँची गरेको जस्तो होईन धेरै काम गर्नु बाँकी छ । यसका लागि निजी क्षेत्रले एक्लै सक्दैन सरकारको आवश्यकता पर्छ । हाम्रो पिँढीले विकास गर्न सकेन भने त अब नेपाल धेरै पछि पर्छ ।

नेपाल सरकारले भनेजस्तै औषधिमा ढुक्क हुने अवस्था छ ?

जे औषधि नेपालमा बनिरहेको छ त्यसको भण्डारण हामीसँग ४ देखि ५ महिनाको लागि चाहिने औषधि छ । कोरोना भाईरसका कारण प्यानिक हुनुपर्ने अवस्था छैन हामीसँग आयात गरिने औषधिको भन्डारण पनि सोही अनुसार छ । तर हामीसँग औषधिको साँच्चिकै अभाव हुने देखियो भने नेपालमा चाहिने तर नेपालमा नपाईने बस्तुहरुको अहिलेदेखि नै आयात गरेर राख्नुपर्ने अवस्था छ ।

यसका लागि सरकारले कहिले कति औषधि या यस्ता बस्तु चाहिने हुन भनेर क्वान्टीफाई र प्रोजेक्सन गर्नुपर्छ । जुन सरकारले पनि गर्नुपर्छ । भारतले प्रतिबन्ध लगाउनुको कारण नेपालमा नपठाउने भन्ने मानसिकतालेभन्दा पनि आफ्नै देशमा अभाव हुन्छ की भनेर होला । तर भारतले पनि अन्य धेरै देशबाट आयात गर्ने गरेको छ । हामीले २०७२ सालमा भारतले सबै बस्तुमा प्रतिबन्ध लगाउँदा हाम्रो बजार धान्न सकेका थियौं । अहिले सक्दैनौ भन्न सुहाउँदैन ।
यसमा चिन्तित हुनुपर्ने बेला आएको छैन । तर हामीले चाहिनेभन्दा बढी खरिद गरेर राख्न थाल्यौं भने बजारमा कृत्रिम अभाव हुन्छ । त्यो खालको कृत्रिम अभाव भयो भने नेपालमा भएको भन्डारणले पनि नपुग्ने होकी भन्ने चिन्ता त छँदैछ ।

यो अवस्थामा सरकारले भारतलाई औषधि खुलाउन आग्रह गर्ने की नेपालमै उत्पादन गर्नमा प्राथमिकता दिने ?

सरकारले त हामीलाई बोलाएर तपाईँलाई के सहज हुन्छ यो यो चिज तपाईँहरु बनाउनुस भन्नुपर्ने हो । हामीले सरकारसँग भेटघाट गरेर आफ्ना सुझावहरु पनिराखेका छौं । हामीले चाह्यौं भने धेरै कुरा नेपालमै बनाउन सक्छौं जसको लागि हामीलाई सरकार र जनताको पनि सहयोग चाहिन्छ ।
नेपाली जनतामा स्वदेशी भन्दा विदेशी उत्पादन खपत गर्नुपर्छ भन्ने मानसिकता छ त्यसको अन्त्य गरिनुपर्छ । जसका लागि सरकारले हरेक उत्पादन कति चाहिने हो भन्ने कुराको एकिन गरिनुपर्छ सोही अनुसार बनाउन सकिने भए बनाउने र नसकिने भए सोही अनुसार आयात गर्न सकिन्छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status