Logo

४० देशसँग नेपालको हवाई सम्झौता, उडान भने ७ देशमै सीमित

४० देशसँग नेपालको हवाई सम्झौता, उडान भने ७ देशमै सीमित



काठमाडौं । नेपाल सरकारले अहिलेसम्म ४० वटा देशसँग अन्तराष्ट्रिय उडानका लागि हवाई सम्झौता गरेको छ । तर, नेपाली जहाज कम्पनीले भने अहिलेपनि ४० देश मध्ये ७ देशमा मात्रै उडान गरिरहेका छन् । हवाई सेवा सम्झौता भएसँगै दुबै देशका एयरलाइन्स कम्पनीले एक अर्काको देशमा हवाई उडान गर्न पाउँछन् ।

laxmi

कमजोर राष्ट्रिय ध्वजावहाक, कमजोर कुटनीति र पूर्वाधार अभावमा नेपाली हवाईजहाज कम्पनीहरु सम्झौता भइसकेका र निकै राम्रो फाइदा हुने गन्तब्यमा पनि उडान सञ्चालन गर्न सकिरहेका छैनन् । अष्ट्रेलिया, ओमान, जोर्डन, कतार, कम्बोडिया, बेलायतलगायतका देशमा उडान सम्झौता भएको भएपनि नेपाली एयलाइन्स कम्पनीले भने अहिलेपनि कतार, मलेसिया, हङकङ, चीन, युएई, बंगलादेश, साउदी तथा भारतमा मात्रै उडान गरिरहेका छन् ।

हाल नेपालबाट अन्तरराष्ट्रिय हवाई उडान गर्ने नेपाली हवाई कम्पनीहरुमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्स र बुद्ध एयर रहेका छन । जसमध्ये निगमले दोहा, मलेसिया, हङकङ, ओसाका, युएई र भारतमा उडान गरिरहेका छन । त्यस्तै हिमालय एयरलाईन्सले अबुधाबी, दमाम, दोहा, ढाका, बेइजिङ, गुइयाडं र चाडंसामा उडान गर्दै आईरहेको छ । बुद्ध एयरले भने भारतमा मात्रै अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

दोहा, मलेसिया, हङकङ, ओसाका, युएई र भारतमा अन्तरराष्ट्रिय उडान गरिरहेको नेपालको राष्ट्रिय ध्वजावहाक निगमले जहाज अभावको कारण देखाउँदै अन्य गन्तव्यमा गएको छैन । अन्य गन्तब्यमा बजार र जहाजको अभाव भएकाले उडान भर्न नसकिएको निगमका प्रवक्ता गणेश बहादुर चन्दले बताए ।

उनले भने, ‘४० देशसँग सम्झौता हुँदैमा ती सबैमा जानु पर्छ भन्ने होईन, हामी जान पनि सक्छौं । तर हामीसँग ती सबैमा उड्न जहाज पनि छैन, जहाज विना कसरी जान सकिन्छ ?’ ती गन्तब्यहरुमा जानको लागि उडान अनुमति भनेको ति देशको नागरिक उड्डयन प्राधिकरणले दिन्छ ।

‘पहिलो खुडकिलो भनेको एएसए हो । त्यो भईसकेपछि हामीले एप्लाई गर्ने हो । फिजिवल भाएबल छ कि छैन भनेर अध्ययन गर्नुपर्ने हुन्छ । त्यो एयरलाईन्स कम्पनीको आफ्नो अध्ययन हो’, चन्दले भने, ‘तर घाटाको ब्यापार गर्न सकिँदैन र जान पनि सकिँदैन ।’

यस्तोमा पछिल्लो समय नीजि क्षेत्रको लगानीमा आएको हिमालय एयरलाईन्सले भने आफ्नो गन्तब्य बढाउँदै लगिरहेको छ । हिमालय एयरलाईन्सले हाल अबुधाबी, दमाम, दोहालगायत चीनको चाङचिङ र सेन्जेनमा समेत उडान गर्ने तयारी गरिरहेको छ ।

बिदेशी एयरलाइन्स कम्पनीहरुका लागि निकै फाइदाका गन्तब्य बनिरहेका विभिन्न गन्तब्यमा पनि नेपाली एयरलाईन्स कम्पनीहरुले जान नसकेको अवस्था छ । अष्ट्रेलिया, अमेरिका, ओमानजस्ता गन्तब्यहरु नेपाली एयरलाइन्सहरुका लागि निकै राम्रो बजार हुनसक्ने अध्ययनले देखाएपनि ती गन्तब्यमा बिदेशी एयरलाइन्सकै एकछत्र राज छ ।

यस्तै नेपाल भित्रिने पर्यटक तथा गैर आवासी नेपाली, व्यवसायी तथा विधार्थीको समेत बाक्लो उपस्थिति रहेको यूरोपको हवाई बजार नेपाली एयरलाइन्स कम्पनीहरुका लागि वर्षौदेखि बन्द छ । नेपालको कमजोर कुटनीतिका कारण २०७० मंसिर २० देखि युरोपेली आयोगले युरोपेली युनियन (इयू) भित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको ‘इयू हवाई सुरक्षा सूची’ मा नेपाललाई राखेको थियो ।

नेपाली एयरलाइन्स कम्पनीहरु यूरोपियन युनियनको कालोसूचीमा परेदेखि त्यसलाई अहिलेसम्म हटाउन सकिएको छैन । जसका कारण वर्षौदेखि अर्बौ रुपैयाँका हवाई बजार नेपाली जहाजका लागि बन्द नै छ । नेपालीहरुले उपलब्ध भएसम्म आफ्नै देशको हवाईजहाज चढने भएपनि विभिन्न कारणले नेपाल आउँदा र बिदेश जाँदासमेत बिदेशी एयरलाइन्स चढ्न बाध्य छन् । यसले अर्बौ रुपैयाँको बजारमा बिदेशी एयरलाइन्सको एकछत्र राज चलिरहेको छ ।

अन्तरराष्ट्रिय उडानकै लागि सरकारले जहाज थप गर्न नसकिरहेको बेला नीजि क्षेत्रबाट संचालित हिमालय एयरलाईन्सले भने मार्चभित्रै थप २ ओटा जहाजसमेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले १२८ सिट क्षमताको ए ३१९ जहाज २ ओटा थप्ने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

यसअघि पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीले ५ बर्ष भित्रमा १ दर्जन नेपाली ध्वजावहाक जहाजले अन्तरराष्ट्रिय आकाशमा उडान भर्ने बताएका थिए । हाल हिमालय एयरलाईन्ससँग अन्तरराष्ट्रिय उडानका लागि ठूला जहाज ३ ओटा छन् भने नेपाल एयरलाईन्ससँग ४ ओटा जहाज रहेका छन् । अहिले ३ वटा नेपाली एयरलाईन्स कम्पनीले अन्तराष्ट्रिय उडान भरिरहेपनि २७ ओटा बिदेशी एयरलाइन्स कम्पनीले नेपालमा उडान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL