Logo

चिनी उद्योगले उत्पादनगर्ने ९ मेगावाट विजुली यसैबर्ष राष्ट्रिय ग्रीडमा, बिद्युत बिक्री गर्दै ३ उद्योग

चिनी उद्योगले उत्पादनगर्ने ९ मेगावाट विजुली यसैबर्ष राष्ट्रिय ग्रीडमा, बिद्युत बिक्री गर्दै ३ उद्योग



काठमाडौं । चिनी उद्योगले यो बर्षदेखि विजुली उत्पादन सुरु गर्ने भएका छन् । चिनी उद्योगबाट विजुली उत्पादन गर्ने सम्बन्धमा लामो समयदेखि बहश भएपनि यस बर्षको सिजनमा भने विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारणलाईनमा जोडिने नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए ।

‘यो बर्षको उखु क्रसिङको सिजनमा विद्युत उत्पादन लाइसेन्स पाएका चिनी उद्योगहरुले विद्युत उत्पादन गर्नेछन्,’ अग्रवालले भने, ‘यो बर्ष चिनी उद्योगबाट कम्तीमा पनि ८ मेगावाट विद्युत उत्पादन गरिनेछ ।’

अग्रवालका अनुसार यो बर्ष ३ वटा चिनी उद्योगले उखु क्रसिङ्को समयमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाईनमा जोड्नेछन् । जसमा एभरेष्ट सुगर केमिकल मिलबाट ३ मेगावाट, इन्दुशंकर चिनी उद्योगबाट ३ र रिलायन्स चिनी उद्योगबाट कम्तीमा २ मेगावाट विद्युत उत्पादन गरिने भएको छ ।

मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले २०७२ जेठमा चिनी उद्योगबाट विद्युत सहउत्पादन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप विद्युत विकास विभागले २०७३ बैशाखमा विद्युत उत्पादन गर्न इच्छुक चिनी उद्योगसँग आवेदन माग गरेको थियो । विभागले आवेदन माग गरी प्रक्रिया अघि बढाएको झण्डै ३ बर्ष पछि चिनी उद्योगले विजुली उत्पादन गरेर बिक्री गर्ने भएका छन् ।

अग्रवालका अनुसार चिनी उद्योगले विद्युत प्राधिकरणलाई प्रति युनिट ८ रुपैयाँ ४० पैसामा विजुली बिक्री गर्न विद्युत खरिद सम्झौता (पीपीए) समेत गरिसकेको छ । चिनी उद्योगमा विद्युत उत्पादनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेको तथा नेपाल सरकारसँग उत्पादन अनुमति लाईसेन्स र विद्युत बिक्रीका लागि पीपीए समेत गरेरकाले यो बर्षको उखु क्रसिङ सिजनबाटै विजुली उत्पादन गरिने उनले जानकारी दिए ।

उखुको बगासबाट विजुली उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोड्न पहिलो चरणमा ७ ओटा उद्योगले आवेदन दिएका थिए । तत्कालिन समयमा एभरेष्ट सुगर केमिकल मिल, अन्नपुर्ण चिनी मिल, बासुलिंगा सुगर मिल, इन्दु शंकर चिनी उद्योग, लुम्वीनी चिनी उद्योग, महाकाली चिनी मिल र बागमती खाडसारीले आशयपत्र पेस थिए । नेपालमा कुल १३ वटा चिनी उद्योग रहेकोमा तत्कालिन समयमा ७ वटा उद्योगले विद्युत उत्पादनका लागि इच्छा देखाएका थिए । जसमध्ये हाल ३ वटा चिनी उद्योग विद्युत उत्पादनको चरणमा पुगको समेत अग्रवालले जानकारी दिए ।

नेपालमा विद्युतको संकट पर्ने समयमा नै चिनी उद्योगबाट विजुली उत्पादन हुने भएकाले पनि त्यसबाट हिउँदको समयमा लोडसेडिङ न्युनिकरण गर्न सहज हुने अग्रवालको तर्क थियो । नेपालमा मंसिरको अन्तिमदेखि चैतको अन्तिमसम्म उखु क्रसिङ्को काम हुन्छ ।
विद्युत प्राधिकरणको अध्ययन अनुसार अहिलेकै अवस्थामा पनि चिनी उद्योगबाछ १३ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । साथै देशका सबै चिनी उद्योगबाट विद्युत उत्पादन गर्ने हो भने क्रसिङको सिजनमा ४० मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने सम्बद्ध उद्योगीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL