Logo

जीडीपीमा निर्यातको योगदान घट्यो, ९९० अर्बको सामान भित्रिदा ७३ अर्बको मात्र निर्यात

जीडीपीमा निर्यातको योगदान घट्यो, ९९० अर्बको सामान भित्रिदा ७३ अर्बको मात्र निर्यात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा नेपालबाट ७३ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आबमा कुल वस्तु निर्यात ४ दशमलव २ प्रतिशतले वृद्धि भई ७३ अर्ब रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्ष यस्तो निर्यातमा १७ दशमलव ८ प्रतिशतले ह्रास आएको थियो । तथापि यस्तो निर्यात आर्थिक वर्ष २०७१/७२ मा भन्दा ज्यादै न्यून रहेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । सो आबमा ८५ अर्ब ३२ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा भारततर्फ ५ प्रतिशत, चीनतर्फ १ दशमलव २ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलव ३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका सामान, जिआई पाईप लगायतका वस्तुको निर्यातमा बृद्धि भएको छ ।

यता अलैची, ऊनी गलैचा, तयारी पोशाक, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात भने घटेको तथ्याङ्कले देखाएको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो बर्ष ३ दशमलव १ प्रतिशत रहेकोमा समीक्षा बर्षमा २ दशमलव ८ प्रतिशतमा झरेको रहेको छ ।

त्यसैगरी गत आबमा वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर ९ खर्ब ९० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात शुन्य दशमलव १ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा भारतबाट भएको आयात ३२ दशमलव ८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६ दशमलव ८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस विलेट, सिमेन्ट लगायतका वस्तुको आयात बढेको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ ।

यता रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३४ दशमलव ४ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३८ दशमलव १ प्रतिशत रहेको छ ।

गत आवमा भन्सार नाकाका आधारमा भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, मेची भन्सार, कैलाली भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा वर्षमा भैरहवा भन्सार, विराटनगर भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा वर्ष कुल वस्तु व्यापार घाटा ३० दशमलव ४ प्रतिशतले बढेर ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा २ प्रतिशतले बढेको थियो ।

समीक्षा अबधिमा निर्यात–आयात अनुपात ७ दशमव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९ दशमलव १ प्रतिशत रहेको थियो । व्यापार घाटा कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्षको ३१ दशमलव ३ प्रतिशतबाट बढेर समीक्षा बर्षमा ३५ दशमलव ३ प्रतिशत पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL