Logo

यस कारण चाहिन्छ ‘क्लिन फिड’, बर्षमै ६ अर्ब ब्यापार बृद्धि !

यस कारण चाहिन्छ ‘क्लिन फिड’, बर्षमै ६ अर्ब ब्यापार बृद्धि !


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सरकारले साउन १ गतेबाट ‘क्लिन फिड’ (विदेशी च्यानलमा बिज्ञापन रहित) नीति कार्यान्वयमा ल्याउन लागेको भन्दै केवल नेटवर्क संचालक व्यवसायीले त्यसको बिरोध गरेका छन् । उक्त नीति कार्यान्वयनमा ल्याएमा हाल संचालनमा आएका सबै च्यानल बन्द गर्ने चेतावनी सहित नेपाल केबल टेलिभिजन महासंघ, केबल टिभी व्यवसायी संघ र डिस होम नेपालले सुचना मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

तर, सुचना तथा संचार मन्त्रालयले भने सरकारको नीति अनुरुप क्लिन फिड साउन १ गतेबाट जसरी पनि लागू हुने जवाफ दिएको छ । ज्ञापन पत्र बुझ्दै मन्त्रालयले क्लिन फिड नीति देशको हितमा भएको र यसलाई जसरी पनि कार्यान्वयनमा ल्याउने बताएपछि व्यवसायीहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहार्न पुगेका छन् ।

नेपाल विज्ञापन संघ (आन)ले क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन विगत १५ बर्षदेखि माग गर्दै आएको थियो । आनले नेपालको विज्ञापन बजार सुधारको लागि भन्दै माग गरेको १५ वर्ष पनि कार्यान्वयनमा आउन लागेको क्लिन फिडमा केवल नेटवर्क संचालकहरु बाधक बन्ने देखिएको छ । तर, सो नीति मन्त्रीपरिषद्बाट स्वीकृत भैसकेको र कार्यान्वयनमा ल्याउने निकायले जसरी पनि लागू गर्ने बताएपछि आनको माग पुरा हुने भएको छ ।

आनले भने क्लिन फिड नीति कसैको स्वार्थभन्दा पनि देशको हितको लागि राम्रो भएको भन्दै जसरी पनि कार्यान्वयमा ल्याउने पर्ने बताएको छ । सो नीति लागू नहुँदा नेपाली विज्ञापन बजारले बार्षिक अबौं रुपैयाँको व्यापार गुमाएको र  जसबाट नेपाल सरकारले पनि करोडौं रुपैयाँ राजस्व गुमाउनु परेको छ ।

क्लिन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार दोब्बरले बढ्ने आनका अध्यक्ष सन्तोष श्रेष्ठ बताउँछन् । ‘नीति नहुँदा विदेशी च्यानलमा विदेशबाटै निर्वाद रुपमा विज्ञापन प्रकाशन तथा प्रशारण हुँदै आएको थियो,’ उनले भने, ‘नीति कार्यान्वयनमा आएसँगै ती विज्ञापन नेपाली च्यानलबाट मात्र प्रशारण हुनेछन् ।’

श्रेष्ठका अनुसार अहिले नेपालको विज्ञापन बजार बार्षिक ६ अर्ब रुपैयाँको छ । नीति कार्यान्वयनमा आएसँगै दोब्बरले बढेर १२ अर्ब पुग्ने उनको दाबी छ । ‘केवल नेटवर्क संचालकहरुले क्लिन फिड लागू भएमा सबै च्यानल बन्द गर्छु भन्नु आधार हिन र गैर कानुनी कुरा हो,’ उनले भने, ‘सरकारले कार्यान्वयमा ल्याउने नीतिको विरोधमा उनीहरुले सम्पूर्ण च्यानल बन्द गर्ने धम्की दिनुको कुनै तुक छैन ।’

क्लिन फिड लागू हुँदैमा सबै च्यानल बन्द नहुने श्रेष्ठ बताउँछन् । ‘नीति कार्यान्वयमा आउँदा नेपाली च्यानल र फ्री टु एयर खालका विदेशी च्यानलाई कुनै असर गर्दैन,’ उनले भने, ‘जुन च्यानल नेपालमा खरिद गरेर संचालन गरिरहेका छन् उनीहरुलाई मात्र समस्या पर्ने हो ।’ तर, खरिद गरेर संचालन गर्दै आएका केही विदेशी च्यानल बन्द हुँदैमा कुनै असर नपर्ने उनको तर्क छ ।

के हो क्लिन फिड भनेको ? कसरी हुन्छ नेपाललाई फाइदा !

क्लिन फिड भन्नाले विदेशी टेलिभिजन च्यानलहरुमा विज्ञापनरहित सामाग्री मात्रै प्रशारण गर्नु हो । नीति कार्यान्वयमा आएसगै विदेशी च्यानलमा निःशुल्क बजिरहेका विज्ञापन स्वत बन्द हुनेछन् भने समाचार सामाग्री तथा कार्यक्रम मात्र प्रशारण गर्न पाइनेछ । जसको प्रत्यक्ष फाइदा नेपाली टेलिभिजन संचालक र विज्ञापन बजारलाई हुने छ भने देशको आर्थिक विकासमा समेत सघाउ पुर्याउने छ ।

अहिले विदेशी च्यानलमार्फत निर्वाध रुपमा नेपाली समाज, संस्कृति, मूल्य र मान्यता प्रतिकुल विज्ञापन बजिरहेका छन् । तर, नीति कार्यान्वयनसँगै सबै रोकिनेछ । स्वदेशी च्यानलले विज्ञापन प्रशारण गरेबापत सरकारलाई राजस्व तिर्दे आएका छन् । तर, विदेशी च्यानलले बार्षिक अर्बो रुपैयाँको विज्ञापन प्रशारण गर्दा पनि नेपाल सरकारलाई कुनै राजस्व बुझाउनु पर्दैन्थ्यो । नीति आएसँगै विदेशी च्यानलको विज्ञापन स्वत हट्ने छ । तर ‘फ्री टु एयर’ च्यानलहरुमा भने अहिलेको जस्तै निर्वाद रुपमा विज्ञापन बज्नेछ ।

बिशेष गरी बहुराष्ट्रिय कम्पनीले विदेशी च्यानलबाट नेपालमा विज्ञापन प्रशारण गर्दै आएका थिए । अबका दिनमा ती कम्पनीले पनि विज्ञापन प्रशारण गर्नु परेमा नेपाली च्यानल प्रयोग गर्नुपर्ने हुन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL