Logo

उपत्यकामा मात्रै १० महिनामा १४० जनाले सवारी दुर्घटनामा ज्यान गुमाए, सबैभन्दा बढी १६ देखि ३५ वर्षका

उपत्यकामा मात्रै १० महिनामा १४० जनाले सवारी दुर्घटनामा ज्यान गुमाए, सबैभन्दा बढी १६ देखि ३५ वर्षका



काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी पछिल्लो १० महिनामा १ सय ४९ जनाको मृत्यु भएको छ । जसमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन् ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १ सय ४९ जनामध्ये १७ देखि ३५ वर्ष उमेर समूहका ८० जना छन् । यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा ५ हजार १ सय ८० सवारी दुर्घटनामा १ सय ४९ जनाको मृत्यु, १ सय ८४ सशक्त घाइते र ३ हजार ४ सय ८५ सामान्य घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले तीव्र गतिमा सवारी चलाउने हुनाले धेरै दुर्घटना भएको बताए । ‘दुर्घटनामा ज्यान गुमाएका अधिकाशं यात्रु मोटरसाइकल चलाउने छन्’ उनले भने ।

गत आर्थिक वर्षमा पनि १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति नै सबैभन्दा बढी सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ । सवारी दुर्घटनाबाट आव २०७२÷७३ मा मृत्यु भएका १ सय ६६ मध्ये ९२ र आव ०७३÷७४ मा १ सय ८२ मध्ये ८६ जना सोही उमेर समूहका व्यक्ति रहेका छन् ।

महाशाखाका प्रमुख पन्तले उपत्यकामा हुने सवारी दुर्घटना दिउँसोको भन्दा रातिको समयमा बढी हुने गरेको बताए ।

सवारी साधन धेरै र सडक साघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किँएर दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।

हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९सय २५ सवारी साधन आवतजावत गर्छन् भने देशभर २७ लाखको हाराहारीमा सवारी साधन रहेका छन् ।

काठमाडौँ उपत्यकामा मात्र ४० ट्राफिक प्रहरी इकाइमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ । ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुँदै आएको महाशाखा प्रमुख पन्तले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पूर्वाधारको कमी र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको बताए । ‘उपत्यकामा आफ्नो सवारी साधनका साथै अर्काको सवारी साधनबाट पनि उत्तिकै दुर्घटना हुने गरेको छ,’ उनले भने । उपत्यकामा हुने दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्यु धेरै हुने गरेको छ । महाशाखाका अनुसार आव २०७२÷७३ मा १ सय ३० पुरुष र ३६ महिला, आव २०७३÷७४ मा १ सय २१ पुरुष र ६१ महिला तथा चालु आर्थिक वर्षमा १ सय १७ पुरुष र ३२ महिलाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।

महाशाखाले चालु आवमा ऐन कानुन विपरित सवारी साधन चलाउने ३ लाख ७८ हजार ९ सय २७ जनालाई कारबाही गरेको छ । तीमध्ये लेन अनुशासनमा ३८ हजार ८ सय १४, मापसेमा २६ हजार १ सय ९७, ट्याक्सी कारबाहीमा ६ हजार ६ सय ८०, जेब्राक्रसिङ कारबाहीमा ७ हजार ३ सय ९७, हर्न कारबाहीमा १३ हजार १९, सिसिटिभीमा १ हजार ९ सय ६३, बढी वान क्यामरामा ६ हजार ५ सय ६३, बुलेट मोटरसाइकलमा ६ हजार ८ सय २ र अन्य कारबाहीमा गरी २ लाख ७१ हजार ४ सय ९२ जना छन् ।

उपत्यकामा सवारी साधन धेरै हुँदा समस्यासमेत हुने गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकामा एउटा ट्राफिक प्रहरीले १ हजार ४४ सवारीसाधन व्यवस्थापन गर्दै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL