Logo

लगानीकर्ता संघका नेतालाई पनि पत्याएन नेप्सेले, आखिर किन ओरालो लाग्दैछ बजार ?

लगानीकर्ता संघका नेतालाई पनि पत्याएन नेप्सेले, आखिर किन ओरालो लाग्दैछ बजार ?



काठमाडौं । बुधबार सेयर बजार लगानीकर्ता सम्बन्धी खुलेका विभिन्न ५ वटा संस्थाका अध्यक्ष तथा पदाधिकारीले अर्थमन्त्रालयसँग छलफल गर्दै सेयर बजारमा देखिएको समस्या समाधान भएको घोषणा गरे । उनीहरुले अर्थ मन्त्रालयलाई आफ्नो मागमा ल्याउन सकिएको र अबका दिनमा सेयर बजारले गति लिने बताएका थिए ।

laxmi

सेयर बजारमा देखिएको पूँजीगत लाभकरको अन्योलता, सेयर खरिदबिक्री पछि ब्रोकर अफिसमा पुगेर ल्याप्चे लगाउनुपर्ने जस्ता विषयको अन्त्य भएको भन्दै पूँजी बजारमा लाग्ने लगानीकर्ताको लागि ऐतिहासिक दिन भएको बताएका थिए । तर, भोलिपल्टै ठिक त्यसको विपरित सेयर बजार भने ओरालो लागेको छ ।

सेयर बजार सुधारको लागि गरिएको प्रयास तथा लगानीकर्ताबाट अग्रसरता देखाएपनि अहिलेकै अवस्थामा पूँजी बजार बढ्न नसक्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । बजारमा देखिएको तरलता अभाव, उच्च ब्याजदर तथा बजारमा सेयरको फ्लो बढि भएका कारणले गर्दा पनि बजारमा सकारात्मक संकेत नदेखिएको ती लगानीकर्ताको भनाई थियो ।

केही समय अघिसम्म राष्ट्र बैंकले बाणिज्य बैंकलाई बाध्यकारी मर्जरमा लैजाने उद्घोष गरेका कारण बजारमा केही सकारात्मक प्रभाव देखिएको थियो । तर, चालू आर्थिक बर्षको मौद्रिक नीतिमा उक्त विषयको संबोधन नभएपछि बजार पुनः घट्न थालेको छ ।

साताको अन्तिम दिन बजार खुलेको केही समय बढेर अन्तमा घट्दै बन्द हुन पुगेको छ । बिहीबार नेप्से परिसुचकमा करिव २ अंकको गिरावट आएको छ । जसमा सबैभन्दा बढि होटल समुहको परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ३ दशमलव ६८ अंकले घटेको छ ।

बिहीबार कारोबार रकममा भने केही सुधार आएको छ । दिनभर कुल ५९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बजारमा नेको इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीको संस्थापक सेयर खरिदबिक्री हुँदा कारोबार रकममा सुधार आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL