Logo

नेप्सेको अनलाईन सिस्टममा गाईजात्रा, माथिल्लो तामाकोशीको सेयरमा एकै दिन ५० प्रतिशत वृद्धि !

नेप्सेको अनलाईन सिस्टममा गाईजात्रा, माथिल्लो तामाकोशीको सेयरमा एकै दिन ५० प्रतिशत वृद्धि !



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले संचालनमा ल्याएको अनलाईन कारोबार प्रणालीमा समस्या आएको छ । नेप्सेमा कुनै पनि कम्पनीको सेयरमा दैनिक १० प्रतिशतभन्दा बढीले घटबढ हुन नहुनेमा माथिल्लो तामाकोशीको सेयरमा सोमबार ५० प्रतिशतको वृद्धि देखिएको छ ।

नेप्सेले सम्बन्धित लगानीकर्ता आफैले अर्डर राख्न सक्नेगरी पूर्ण स्वचालित अनलाईन प्रणाली ल्याएको थियो । तर विना तयारी नाममात्रको अनलाईन सिस्टम ल्याउँदा लगानीकर्ताहरु थप मारमा परेका हुन् । आवश्यक तयारी विनै नेप्सेले अनलाईन प्रणाली कार्यान्वयनमा ल्याएको कारण पटक पटक समस्या आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘समान्य सिद्धान्त अनुसार पनि नेप्सेले दैनिक १० प्रतिशतको रेञ्जभन्दा तलमाथी नहुनेगरी सिस्टम बनाउनु पर्छ,’ नेपाल ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले भने, ‘आज माथिल्लो तामाकोशीको सेयर एकैपटक कसरी ५० प्रतिशतको वृद्धि भयो यसको उत्तर नेप्सेले दिनुपर्छ ।’

नेप्सेको अनलाईन प्रणालीमार्फत लगानीकर्ताले ब्रोकरबाट युजर र पासवर्ड लिएर आफैले अर्डर राख्न सक्नेछन् । ‘यदि नेप्सेले १० प्रतिशतको रेञ्जमा रोक्ने सिस्टम नल्याउने हो भने कुनै लगानीकर्ताले सयौं गुणा मूल्य बढाएर अर्डर राखेर कारोबार गरेमा त्यसको जिम्मा कसले लिन्छ ?,’ रानाभाटले भने, ‘ब्रोकरले त लगानीकर्तालाई कारोबार गर्ने प्लेटफर्म उपलब्ध गराउने हो अरु जिम्मा नेप्सेले लिनुपर्छ ।’

नेप्सेले भने अनलाई प्रणालीमा भएको त्रृटि र ब्रोकरले पनि त्यसैको फाइदा उठाउँदै रेञ्जभन्दा माथी गएर अर्डर राखेकाले समस्या आएको जानकारी दिएको छ । ‘सामान्य सिद्धान्त अनुसार ब्रोकरले पनि १० प्रतिशतभन्दा बढी घटवढ नहुनेगरी अर्डर राख्नुपर्छ यसका ब्रोकरको पनि गल्ती छ,’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘नेप्सेको स्टिमले पनि १० प्रतिशतभन्दा बढीका अर्डर राखेपछि रोक्न सक्नुपथ्र्यो त्यसमा हाम्रो गल्ती भयो ।’ सोही समस्या समाधानका लागि नेप्सेको प्राविधिक टोलीलाई खटाईएको समेत उनले जानकारी दिए ।

आईतबार देखि दोस्रो बजारमा कारोबार आएको माथिल्लो तामाकोशीको सेयर सोमबार एकैपटक ५० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३६ रुपैयाँ पुगेको छ । दोस्रो बजारमा प्रतिकित्ता २२४ रुपैयाँबाट कारोबार सुरु भएको सो सेयर सोमबार १० प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्नुपर्नेमा नेप्सेको गल्तीका कारण उच्च वृद्धि भएको देखिएको छ । यस्तै समस्या नागरिक लागनीकोषको सेयरमा पनि देखिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL