Logo

पूर्व अर्थमन्त्री डा. महत भन्छन्, ‘अब विदेश होइन देश सम्बृद्ध बनाउन स्वदशमै काम गरौं’

पूर्व अर्थमन्त्री डा. महत भन्छन्, ‘अब विदेश होइन देश सम्बृद्ध बनाउन स्वदशमै काम गरौं’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले देशलाई आर्थिक रुपमा समृद्ध बनाउन स्पष्ट आर्थिक एजेण्डा आवश्यक पर्ने बताएका छन् । साथै राजनीतिक दलहरुले कागजमा लेखेका एजेण्डालाई व्यवहारमा उतार्नु पर्ने समेत उनको भनाइ थियो ।

‘मुलुकलाई समृद्ध बनाउनका लागि राजनीतिक नेतृत्वमा सुस्पष्ट सोच र दृष्टिकोण आवश्यक पर्छ,’ धादिङबेसीमा शुरु भएको महोत्सवको उद्घाटन गर्दै नेता डा महतले भने, ‘त्यसलाई कार्यान्वयन गर्न कहिलेकाँही कठोर र अलोकप्रिय निर्णय पनि गर्नुपर्ने हुन्छ ।
राजनीतिक संक्रमणकाल वा अन्य कुनै बाहनाबाजी गर्ने छुट नयाँ सरकारलाई नभएको स्पष्ट पार्दै उनले क्षमता र सोच भए गरेर देखाउने अवसर प्राप्त भएको उनको दाबी थियो ।

धादिङ महोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी पूर्व अर्थमन्त्री डा. महत

विगतमा कांग्रेस नेतृत्वको सरकारले साहसिक र कठोर निर्णय गरेर अर्थतन्त्रलाई आधुनिकतातर्फ अघि बढाएकोले हिंसात्मक द्वन्द्व र राजनीतिक संक्रमणकालका बीच पनि गौरव गर्न लायकका उपलब्धिहरु हासिल भएको दाबी गर्दै नेता डा महतले आर्थिक समृद्धिका लागि काम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार राज्यले धान्न नसक्ने वितरणमूखी सस्ता प्रियतावादी काम भन्दा अर्थतन्त्रको दीर्घकालिन विकास हुने ठोस काम गर्नेतर्फ ध्यान दिनुपर्छ । रोजगारी सिर्जना हुने, लगानी बढ्ने, आर्थिक गतिविधिहरुको विस्तार हुने ठोस काममा सबैको ध्यान जानुपर्छ । ‘युवाहरुलाई सरकारसँग धेरै आशा नगरी स्वदेशमै र आफ्नो गाउँमै हुनसक्ने व्यवसाय गर्नु पर्छ,’ उनले भने, ‘कृषि, पशुपालन र तरकारी खेती गरेर कतिपय युवाहरुले विदेशमा आर्जन गर्नेभन्दा धेरै आम्दानी गरिरहेका छन । त्यसैले स्वदेशमै मेहनत गरौं, स्वदेशमै नङग्रा खियाउन थालौं, पाखुरा बजार्न थालौं ।’

साना तथा मझौला व्यवसायी महासंघ धादिङको आयोजनामा शुरु भएको उक्त महोत्सवमा महासंघका संस्थापक अध्यक्ष जंगबहादुर श्रेष्ठ, निलकण्ठ नगरका मेयर भीम ढुंगाना, कांग्रेस पार्टीका जिल्ला सभापति रमेश धमला, पूर्वमन्त्री कल्पना धमला तथा विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुले पनि शुभकामना दिएका थिए । काठमाडौंको तरकारी आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने धादिङ जिल्लामा युवाहरुलाई आधुनिक कृषितर्फ आकर्षित गर्ने मात्र होइन, स्थानीय तहको चौतर्फी विकास गर्ने सोचले महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएका छन । महोत्सव ११ दिनसम्म चल्ने जनाइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL