Logo

नेपालमै गाडि बनाएर बिक्री गर्न एकदमै कठिन छ

नेपालमै गाडि बनाएर बिक्री गर्न एकदमै कठिन छ



कुनै समय एकदमै ‘क्रिम’ व्यापार मानिएको सवारीसाधनको बजारको आकार अहिले खास बढ्न सकेको छैन । सरकारको नयाँ भन्सार नीति, भारतीय सवारीको बजारमा आएको मन्दी यस पछाडीका कारण बनेका छन् । यहि परिस्थितिमा सवारीसाधनको प्रदर्शनी गरिने नाडा अटो शो २०१९ भदौ १० गतेदेखि राजधानीको भृकुटीमन्डपमा सुरु हुँदैछ । नेपालको सबैभन्दा ठूलो प्रदर्शनी मानिने यो शो नयाँ सवारी खरिदको चाहना राख्ने जोकोहीलाई एउटा आकर्षणको गन्तव्य बन्न पुगेको छ । यसै सन्दर्भमा नेपालको समग्र सवारी बजारको अवस्था, पछिल्ला सरकारी नीतिको प्रभाव र नाडा अटो शोमा केन्द्रित रहेर बिजखबरले नाडा एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भु दाहालसँग गरेको कुराकानी :

सरकारका पछिल्ला नीतिका कारण सवारीसाधन बिक्रीमा असर परेको व्यवसायीहरुको गुनासो छ । के यस्तै भएको हो ?

समयसापेक्ष सरकारी नीति नियम परिमार्जन हुनु स्वभाविक हो । नीति नियम परिवर्तन हुँदा पक्कै पनि केही प्रभाव पार्छ । तर, पछिल्लो समय ल्याएको सरकारी नीतिले यस क्षेत्रलाई केही सहयोग पारेको छ, सरकारले राम्रै काम गरेको छ । व्यापार घाटा न्यूनीकरण कार्ययोजना, २०७५ ले यस क्षेत्रमा प्रवाह हुने कर्जा रोक्न सिफारिस भएको थियो । टर्म लोन बन्द गर्ने, स्पेयर्स पार्ट खरिदका लागि कर्जा नदिने, सवारी आयातमा दिईने कर्जा घटाउनेजस्ता विषयहरु सिफारिस भएका थिए । तर, नाडाको तर्फबाट सरकारसँग छलफल गरी त्यसलाई रोक्यौं । यदि सिफारिस भए अनुरुपको व्यवस्था भएको भए यो क्षेत्रलाई ठूलो समस्या पार्दथ्यो तर त्यसलाई रोकियो ।

नेपालको समग्र अटो उद्योगको अवस्था हेर्ने हो भने राम्रै छ । सवारीसाधन आयात घटेको छैन । व्यापार घटेको छैन । वृद्धि मात्र नभएको हो । गत बर्ष हामीले जति सवारीसाधन बिक्री गथ्र्यौं, अहिले पनि त्यहिं नै छ । सामान्यतया नेपालको अटो बजार बार्षिक १० देखि १५ प्रतिशत वृद्धि हुनु पथ्र्याे तर, त्यो चाहिँ हुन सकेको छैन ।

भारतीय बजारमा सवारीसाधनको व्यापारमा मन्दी आयो भन्ने समाचार आइरहेका छन् । त्यसले नेपाली बजारलाई कस्तो प्रभाव पार्छ ?

पक्कै पनि असर गर्छ । नेपाली गाडि विक्रेताहरुलाई दबाब हुन्छ । भारतमा सवारीसाधन बिक्न छाडेपछि नेपालमा लगेर बिक्री गर्न दबाब दिन्छन् । विभिन्न स्किमहरु ल्याएर प्रलोभनमा पार्छन । अहिले पनि विभिन्न गाडी निर्माता कम्पनीहरुले विभिन्न स्किम ल्याएर नेपाली व्यवसायीलाई गाडि आयात गर्न आकर्षित गर्दै आएका छन्, दबाब पनि । यसले नेपाली सवारीसाधन व्यवसायीको लागि अवसरभन्दा पनि ‘ट्रयाप’ बढी परेको छ ।

अहिले भारतले विभिन्न स्किम ल्याएर गाडी खरिदका लागि अफर गरेपनि त्यसले नेपाली व्यवसायीलाई ठूलो समस्यामा पार्ने छ । हाम्रो बजार जति छ, सोही अनुरुप गाडि खरिद गर्ने हो । अफर दियो भन्दैमा नेपालमा ल्याएर थन्क्याएर राख्दा व्यवसायीहरुको ठूलो लगानी डुब्नेछ । यदि क्रेडिटमै दिए पनि सामान ल्याएर राख्दैमा बिक्री गर्न सकिदैन । यदि मलाई कसैले सोध्यो भने अफर वा क्रेडिटमै मागभन्दा बढी गाडि आयात गर्दा ट्रयापमा परिने छ । व्यवसायीलाई म त्यो ट्रयापमा नपर्न आग्रह गर्दछु ।

अहिले हाईब्रीड गाडिको भन्सार छुट दिने विषयमा धेरै विवादहरु बाहिर आएको सुनिन्छ । यसमा नाडाको आधिकारीक धारणा के हो ?

हाम्रो स्पष्ट भनाई जुन गाडिमा हाईब्रीड लेखिएको छ, त्यसलाई छुट दिनुपर्छ भन्ने हो । तर, हामीले भन्दैमा हुँदैन । अहिले यो विषयमा धेरै अन्योल छ । यसमा सरकारले नै वर्गीकरण गरिदिनुपर्ने हुन्छ । हाईब्रीड गाडि आयातले हाम्रो पेट्रोलियम पदार्थको खपत घट्छ भने त्यस्ता गाडि आयातमा छुट दिनुपर्छ । तर सामान्य घटेर भएन त्यसको खपत न्यूनतम ५० प्रतिशत घट्नु पर्यो । यदि कुनै एउटा गाडिले प्रतिलिटर माइलेज २१ किलोमिटर दिँदै आएको छ भने हाईब्रीड गाडि ल्याउँदा त्यसको माइलेज ५० किलोमिटर हुनुपर्छ । हामीले विभिन्न कोणबाट सोच्ने हो ।

विश्व बजारमा धेरै खालका हाईब्रीड गाडिहरु उत्पादन भएका छन् । कुन बर्गको हाईब्रीड गाडिलाई कस्तो छुट सुविधा दिने हो त्यो सरकारले नै निर्धारण गरिदिनुपर्छ । यसको परिभाषा सरकारबाट आउनुपर्छ । यसमा नाडाको कुनै हात हुँदैन । हामीले नाडाको तर्फबाट हाइब्रीड गाडिको विषयमा सरकारलाई हामीले कुनै सल्लाह सुझाव दिएको छैन । तर अहिलेसम्म अन्योल नै छ ।

स्वदेशमै सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना गर्ने कुरा बारम्बार सुनिन्छ । तर, अहिलेसम्म पनि यसमा प्रगति किन हुन सकेन ?

त्यसका लागि हामीले वातावरण तयार गर्न सकेनौं । पूँजीवादी अर्थतन्त्र ‘माइण्डसेट’बाट चल्ने गर्छ । हामीले धेरै नाफा हुन्छ भनेर एक खालको हिसाब निकालेर उद्योगमा छिर्छौं । धेरै नाफा हुने लोभ देखाईन्छ । तर, लगानीकर्तालाई लगानीका लागि नेपालप्रतिको विश्वास जोगाउन सकेका छैनौं । यहाँ उद्योग खोल्दा नाफा हुन्छ, अवसरहरु धेरै छन् भन्ने भावनाको विकास गर्न सकिएको छैन । यसैगरी नीति नियममा पनि धेरै कमिकमजोरी छन् । यहाँ धेरै खालका समस्या छन् । एउटा समाचारमै पढेको थिए, जब नेपाल राष्ट्र बैंकले लगानीको वा सम्पतीको स्रोत खोज्न थाल्यो तब व्यवसायीहरु सम्पर्क विहीन भए भन्ने । यो किन भयो त ? यदि देशमा वास्तविक व्यवसायीलाई अघि बढाउने हो भने सोही अनुरुपको संरक्षणकारी नीति र भावना हुनुपर्छ । तर, अहिले त्यस्तो खालको भावनाको खडेरी छ ।

यहि परिस्थितिमा पनि सवारीसाधन एसेम्बल उद्योगको संभावना कस्तो छ ?

सर्वप्रथम नेपाली बजारलाई मात्र लक्षित गरेर एसेम्बल उद्योग खोल्न सकिदैंन । अर्को विषय भन्सार शुल्कलाई मात्र आधार मानेर कोही पनि उद्योगी व्यवसायीले लगानी गर्दैनन् । उद्योग लगाउने समयमा भन्सार शुल्क काम छ तर, भन्सार शुल्कको आधारमा कसैले लगानी गर्दैनन् । उद्योग खोल्ने समयमा भन्सार छुट बढी दिएर पछि बढाईदियो भने त उद्योगहरु धरासायी हुन्छन् ।

व्यवसायीले दिर्घकालीन योजना अनुरुप लगानी गर्ने हो । अर्को कुरा व्यवसायीले लगानी गरेको पैसा पनि सबै उसैको हुँदैन । त्यसमा बैंकको पनि पैसा हुन्छ । त्यस्ता कर्जा जोखिममा पर्यो भने सरकार तथा व्यवासायी दुबै डुब्ने खतरा हुन्छ । कुनै पनि व्यवसायीले ३० प्रतिशत लगानीगर्दा सर्वसाधारण जनताको ७० प्रतिशत लगानी हुन्छ । विशेषगरी चीन र भारतका कस्ता खालको नीति ल्याएर अटो उद्योगलाई संरक्षण गरिएको छ सरकार र व्यवसायीबीच कस्तो खालको सहकार्य भइरहेको छ । त्यसलाई अध्ययन गरेर त्योभन्दा बढि सुविधा दिईयो भने मात्र एसेम्बर उद्योग खोल्न सकिन्छ भने वास्तविक लगानी भित्र्याउन सकिन्छ ।

अहिले पनि अटो क्षेत्रमा लगानी नआएका होइनन् । तर कागजमा मात्र सिमित भए । कागजी रुपमा विलियन डलरको लगानी आएको छ तर वास्तविकतामा कुनै पनि रकम भित्रिएको छैन । त्यस्तो प्रतिबद्धतालार्ई हामीले लगानी भन्न मिल्दैन । अहिले नेपालमै गाडी बनाएर बिक्री गर्न वा ठूला गाडी एसेम्बल गर्न एकदमै कठिन छ । उदाहरणका लागि मैले बनाएर ‘मेड इन नेपाल’ भनेर बिक्री गर्न लागे भनेपनि त्यसका लागि आवश्यक कच्चा पदार्थ खोई ? नेपालमा न बजार छ न कच्चा पदार्थ नै छ ।

अहिले सरकारले भन्सार विन्दुमै सवारीसाधनको अधिकतम मूल्य तोकेर ल्याउनुपर्ने बााध्यकारी नियम ल्याएको छ । त्यसले उपभोक्तालाई कस्तो फाइदा पुर्याउँछ अनि बिक्रेतामा कस्तो प्रभाव पर्छ ?

यी सबै मूल्य अभिवृद्धि कर (भ्याट) प्रकरणबाट आएको हो । जसले फेयर काम गर्दै आएको छ, उसलाई कुनै असर गर्दैन । यसैगरी उभोक्ताले पनि वास्तविक मूल्यमा सवारीसाधन खरिद गर्न पाउँछन् । अनावश्यक मूल्यका कारण व्यवसायीहरुलाई पनि सरकारी पक्षबाट धेरै झण्झट आउँथ्यो । भन्सार विन्दुमै अधिकतम मूल्य निर्धारण गर्दा त्यस्ता खालका झण्झटबाट मुक्त भएको छ ।
पहिला न्यून बिजकीकरणका लागि भन्सार बिन्दुमै आयातित सामानको मूल्य निर्धारण गर्ने चलन सुरु भएको हो । यो व्यवस्थाले सहि काम गर्ने व्यवसायीलाई अझै सजिलो हुन्छ । भन्सार मूल्यमै निर्धारण गरेपछि व्यवसायीहरुले त्यसभन्दा बढि मूल्यमा बिक्री गर्न पाएनन् । तर तल्लो सिमा भने जतिसम्म पनि जान सकिन्छ । यसले गर्दा असल नियतका साथ काम गर्ने व्यवसायीलाई सहज हुन्छ भने उपभोक्तालाई फाइदा हुन्छ ।

प्रसङ्ग बदलौं । नेपालमा हुने मेलामध्ये सबैभन्दा भव्य मानिने नाडा अटो शो नजिकै आएको छ । तयारी कहाँ पुग्यो ?

लगभग अन्तिम तयारीमा पुगेका छौं । नाडा अटो शो भदौ १० गते १० बजे अर्थमन्त्रीबाट उद्घाटन हुँदैछ । यसपटकको अटो शोमा १ सय ६० वटा स्टलमा ९५ वटा ब्राण्डले सहभागिता जनाउनेछन् । जसमा दुई पाङ्ग्रे १९ र २३ वटा चारपाङ्ग्रे सवारीसाधन निर्माता कम्पनीले सहभागिता जनाउने छन् । यसैगरी टायर, लुब्रिकेन्ट तथा स्पेयर्स पार्ट्स निर्माण कम्पनीहरुको पनि सहभागिता हुनेछ ।


नाडा अटो शोको नाम नै शो छ । यसमा नयाँ उत्पादनको प्रदर्शनी, सडक सुरक्षा, सवारीसाधनको गुणस्तलगायतका विषयमा उपभोक्तालाई जानकारी दिनुपर्ने । तर, यस अघिका अटो शो हेर्दा त एउटा व्यापारमात्र गर्ने थलो भयो भन्ने आरोप छ नि ?

त्यो एउटा बाटो मात्र हो । मेलामा सेल्सम्यान त गएकै हुन्छ । उसले मेलामा पुगेर पनि गर्ने बिक्री नै हो । मेलामा ब्राण्डिङ गर्ने कर्मचारीको पनि अभाव हुन्छ । सेल्स म्यानले ब्राण्डिङको विषयभन्दा पनि सेल्सकै बारेमा बढी प्रचार गर्छन । त्यो उनीहरुको बानी पनि हो । अर्को कुरा नाडा अटो शो दशैं नजिक हुन्छ । जसले गर्दा बढीभन्दा बढी अवलोकनकर्ता गाडी खरिदकै लागि पुगेका हुन्छन् । शोमा सबै प्रर्दशनीकर्ताले कुनै पनि उत्पादनको विशेषताको बारेमा जानकारी दिन्छन् भने विश्व बजारमा आएको नयाँ नयाँ उत्पादनहरु शोमा राखेका हुन्छन् ।

यसैगरी विश्व बजारमा अटो क्षेत्रको प्रविधिको विषयमा के भइरहेको छ, हाईब्रीड गाडीको विकास तथा इलेक्ट्रिक सवारीसाधनको विषयमा जतिसक्दो धेरै जानकारी दिने छौं । अहिले पत्रिकामा मात्र हाईब्रीड गाडी तथा इलेक्ट्रिक सवारीसाधनको विषयमा पढेका हुन्छौं । तर, मेलामा प्रत्यक्षरुपमा हेर्न पाईन्छ भने सबै ब्राण्डमा सवारीसाधन एकै स्थलमा अवलोकन गर्न पाइन्छ । यदि संसारलाई हेर्ने हो भने नाडा अटो शो २०१९ को आखाँबाट हेर्नुपर्छ । यो व्यापारभन्दा पनि प्रर्दशनी नै हो । तसर्थ आधुनिक प्रविधिको विकासक्रमलाई हेर्न सबैलाई नाडा अटो शोमा आउन आग्रह पनि गर्दछु ।

आगामी दिनमा नाडा अटो शोका लागि चोभारमा प्रर्दशनी स्थल बनाउने भनिएको छ । यसको तयारी के छ अनि त्यहाँसम्म अवलोकनकर्ता ल्याउन सकिन्छ ?

मज्जाले सकिन्छ । दिल्लीको अटो शो हेर्नुस न, प्रर्दशनी स्थल कति टाढा छ तर त्यहाँ मानिसहरु गएकै हुन्छन् । राम्रो र आफुलाई आवश्यक परेको बस्तु हेर्न मान्छे आईहाल्छन् नि । अटोमोबाईल भनेको टेक्नोलोजी र ग्ल्यामर हो । मान्छेले अनुभव गर्न चाहने वस्तु पनि हो । अहिले विश्वमा नयाँ नयाँ प्रविधि सहितको सवारीसाधनहरु बनिरहेका छन् । जसलाई हामी अटो शोमा देखाउँछौं । अहिले मानिसहरु एउटा घर र एउटा गाडिको लागि काम गर्छन्, मैले पनि जिन्दगी भर नै त्यहि गरे । जबसम्म थिएन त्यसको पछाडि दौडियो अहिले छ त्यसलाई मेन्टेन गर्नुका साथै नयाँ मोडमा पनि जान पर्यो । यो एक्सपेरियन्स प्रोडक्ट हो । हाम्रो लागि चोभार भनेको टाढा होइन । जम्मा ३÷४ किलोमिटरको दुरीमा पर्छ । हामीले पार्किङको कारणले गर्दा धेरै मानिसलाई अटो शोमा ल्याउन नै सकेका छैनौं ।

यस पटक त नाडा अटो शोमा आउनेका लागि पार्किङ शुल्क पनि तोक्नुभयो । अब जसरी पनि आईहाल्छन् भन्ने भएर यसो गरिएको त हैन ?

यो अनावश्यक मान्छे नआउन भनेर निरुत्साहन गरेको हो । अटो शोमा आवश्यक परेको मान्छे भन्दा पनि पार्किङमा गाडि राखेर बाहिर घुम्ने मान्छेको जमात बढी हुन्छ । यदि पार्किङ शुल्क राख्यो भने त त्यस्ता मान्छेहरु आउँदैनन् । अटो शोमा वास्तविक अटो प्रेमी र खरिदकर्ता मात्र आउन भनेर पार्किङ शुल्क उठाउने निर्णय गरेका हौं । अर्को कुरा व्यवस्थापनका लागि पार्किङ शुल्क उठाउनुपर्ने जरुरी देखियो ।

प्रतिक्रिया दिनुहोस्
MBL