Logo

देशभर १५ सय ६० पुल निर्माणको अन्तिम चरणमा, ३ सय ओटा पुल यसै बर्ष सम्पन्न हुने

देशभर १५ सय ६० पुल निर्माणको अन्तिम चरणमा, ३ सय ओटा पुल यसै बर्ष सम्पन्न हुने



काठमाडौं । पछिल्लो सय देशैभर सडक निर्माणले गति लिएसँगै पुल निर्माणमा पनि तीब्रता आएको छ । सडक बिभाग अन्तरगतका पुल महाशाखाले चालु आर्थिक बर्षमा ३ सय ओटा पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । देशभरिमा १५ सय ६० ओटा पुल निर्माणाधीन अवस्थामा रहेको छ । जस मध्ये ३ सय ओटा पुल निर्माणको काम भने यसै आर्थिक बर्ष भित्र सम्पन्न हुने महाशाखाका प्रमुख दिपक भट्टराईले जानकारी दिएका छन । गत बर्ष १ सय ४९ ओटा पुलको काम सम्पन्न गरेको महाशाखाले यस बर्ष भने ३ सय ओटा पुलको काम सम्पन्न गर्ने उद्देश्यले निर्माणकार्यलाई तीब्रता दिएको भट्टराईले बताए ।

यस बर्ष ३ सय ओटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको महाशाखामा बजेटको भने अभाव रहेको छ । प्रमुख भट्टराईका अनुसार चालु आवमा ४ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन भएकामा अझै थप १४ अर्ब आवश्यक रहेको छ । ३ सय ओटा पुल निर्माण सम्पन्न गर्न महाशाखाले अर्थमन्त्रालयमा १४ अर्ब रुपैयाँ बजेट माग गर्ने तयारी गरेको हो । बजेट अभावका कारण महाशाखाले बिभिन्न निर्माण ब्यवसायीहरुलाई भुक्तानी गर्नु पर्ने साढे २ अर्ब रुपैयाँ भन्दा बढी रकमसमेत भुक्तानी गर्न सकेको छैन । महाशाखाले चालु आवमा १४९ ओटा पुल निर्माण गर्न डिजाईनको लागि सुचना समेत प्रकाशित गरेको छ ।

१५ सय ६० ओटा पुल मध्ये स्थानीय सडक पुल (एलआरएन) अन्तरगत ११ सय ३७ र रणनैतिक पुल (एसआरएन) अन्तरगत ३ सय ३० ओटा रहेको महाशाखाले जानकारी दिएको छ । बाँकी ९३ ओटा पुल भने मदनभण्डारी मार्ग, हुलाकी सडक, धरान चतरा सडक आयोजना, उत्तर दक्षिण लोकमार्ग र मध्यपहाडी मार्गमा रहेको महाशाखाले जानकारी दिएको छ । भट्टराईका अनुसार निर्माणाधीन पुल विगत २०६८÷६९ देखि बनिरहेका पनि रहेका छन् । उक्त पुलको निर्माण सम्पन्न नहुनुमा भने प्राविधिक समस्या, प्रकृतिक प्रकोप, डिजाईनको समस्या, चाडपर्वलगायतले गर्दा समयमै सम्पन्न हुन नसकेको हो ।

समयमै निर्माण सम्पन्न नभएका धेरै पुलहरु अहिले ९० प्रतिशत काम सम्पन्न भईसकेका प्रमुख भट्टराईले जानकारी दिए । भट्टराईले पुलहरु समयमै निर्माण सम्पन्न नहुनुमा भने ठेकेदार कम्पनीलाई मात्रै दोष दिन नहुने बताए । महाशाखाको पनि कमिकमजोरी रहेकाले यो वा त्यो भनेर कसैलाई दोष दिन नहुने उनको तर्क रहेको छ । सरकारले सडक बिभाग तथा महाशाखामा दक्ष जनशक्ति पर्याप्तमात्रमा दिने हो भने सबै काम समयमै सम्पन्न हुने उनको भनाई रहेको छ ।

चालु आवमा भने २ सय ४२ ओटा नयाँ निर्माण हुने पुल रातो किताबमा परेको सडक बिभाग अन्तरगत पुल महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार रातो किताबमा परेको पुल मध्ये २ सय १२ ओटाको भने सर्वे भईरहेको छ । बाँकी अन्यको कुनै काम अघि बढ्न सकेको छैन । महाशाखाले भने भर्खरै रातोकिताबमा परेकाले अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिएको छ । २ सय ४२ पुल मध्ये एलआरएन अन्तरगत २ सय १२ र एसआरएन अन्तरगत ३० ओटा पुल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL