Logo

सेयर बजारमा बैंकर्स संघ र इन्भेष्टर्स फोरमबीच छलफलको प्रभाव, कारोबार रकमले हान्यो हाफ सेन्चुरी

सेयर बजारमा बैंकर्स संघ र इन्भेष्टर्स फोरमबीच छलफलको प्रभाव, कारोबार रकमले हान्यो हाफ सेन्चुरी



काठमाडौं । सेयर बजारमा लामो समयदेखि खुम्चिएको कारोबार रकम सोमबार उच्च रुपमा बढ्दै ५० करोड रुपैयाँ नाघेको छ । बजार खुलेको केही समय सामान्य रुपमा कारोबार भएपनि अन्तमा आएर कारोबार रकम उच्च बढ्न पुगेको छ ।

दैनिकजसो २० करोड रुपैयाँको कारोबार हुँदै रुमलिएको बजारमा सोमबार ५४ करोड ६० लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसुचकमा पनि उल्लेख्य सुधार आएको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार कारोबार बन्दा हुँदा १६ अंकले बढ्न पुगेको छ ।

बजारमा तरलता अभाव, उच्च ब्याजदर तथा मागको तुलनाको सेयरको फ्लो बढी हुँदा दैनिक जसो घट्दै गएको बजारमा बैंकर्सहरुले ग्रीन सिग्नल दिएसँगै उकालो लाग्न पुगेको हो । सेयर बजारलाई नयाँ उचाई दिने सम्बन्धमा नेपाल इन्भेष्टर्स फोरम र बैंकर्स संघबीच भएको छलफलमा अबका दिन मार्जिन ल्याण्डिङ्को ब्याज घटाउनुका साथै तरलतामा समेत सहजता भएको जानकारी दिएपछि सोमबार कारोबार रकम उच्च रुपमा बढ्न पुगेको फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । ‘बैंकहरुले कर्जाको ब्याजदर घटाउने प्रतिवद्धता गर्नुका साथै पछिल्लो समय तरलता सहज भएको जानकारी दिएका छन्,’ उनले भने, ‘जसले गर्दा लगानीकर्तामा थप उत्साह प्रदान गरेको छ ।’

बजारमा भएको तरलता सहजता र बैंकहरुले गरेको ब्याजदर घटाउने प्रतिवद्धतासँगै आगामी दिनमा बजार बढ्ने उनको दावी थियो । छलफलमा बैंकर्सहरुले केही दिनभित्रै मार्जिन ल्याण्डिङ्मा २ प्रतिशत ब्याज घटाउने बाचा गरेको समेत उनले जानकारी दिए ।
दोहोरो अंकले बढेको बजारमा प्रायःजसो समुहको परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ९६ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक ७२ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक पनि साढे १५ अंकले बढ्न पुगेको छ भने विकास बैंक १३ र जलविद्युत २० अंकले उकालो लागेका छन् ।

दिनभर कुल १ सय ९६ कम्पनीको १८ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको मात्रै १० करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार उच्च कारोबार हुने १० कम्पनीमध्ये ९ वटा कम्पनीको कारोबार १ करोड रुपैयाँभन्दा माथी भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL