Logo

प्रणय दिवशलाई सवाँ करोडको गुलाफ आयात गरिँदै, मूल्य पनि बढ्ने

प्रणय दिवशलाई सवाँ करोडको गुलाफ आयात गरिँदै, मूल्य पनि बढ्ने


बिजखबर संवाददाता
27
Shares

–शर्मिला पाठक

काठमाडौं । यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे)का लागि भारतबाट १ करोड २५ लाख रुपैयाँ बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ अर्थात २५ लाख रुपैयाँको बढी हो ।

अघिल्लो वर्ष १ करोड रुपैयाँको मात्र गुलाफ आयात गरिएकोमा यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । बजारमा २ लाख २५ हजार वटा रातो गुलाफको माग रहेको छ ।

कुल मागमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । ‘गत वर्षको प्रणय दिवसमा एक लाख ९० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ,’ उनले भने, ‘यस वर्ष ३५ स्टिक गुलाफ बढी आयात गर्न लागिएको हो ।’

गत वर्ष उपभोक्ताले ५० देखि ६० रुपैयाँमा गुलाफको फुल खरिद गरेका थिए । तर, यस बर्ष भने मूल्य बढ्ने उनले जानकारी दिए । ‘जाडोको समयमा फूल उत्पादनमा कमी आउने भएको र अझै पनि पुष्प व्यवसायप्रति मानिसको आकर्षण नभएकाले आन्तरिक उत्पादनले धान्न कठिन भएको हो,’ उनले भने ।

हाल काठमाडौं उपत्यकाको तीनवटै जिल्ला, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटमा रातो गुलाफको व्यावसायिक खेती गरिँदै आएको छ ।

नेपालमा पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फष्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । सामान्यतया ६ सय प्रजातिका फूल रहे पनि १ सय ४७ हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा ४ सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ /रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL