Logo

वाणिज्य बैंकको सेयर प्रस्ताव मन्त्रीपरिषदमा, होला त सर्वसाधारणको पक्षमा निर्णय ?

वाणिज्य बैंकको सेयर प्रस्ताव मन्त्रीपरिषदमा, होला त सर्वसाधारणको पक्षमा निर्णय ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । दुई वर्ष अघि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने विषयले सेयर बजारमा चर्चा कमायो । चर्चा पछिको चासो अहिले पनि उत्तिकै छ । आखिर कहिले घोषणा होला त वाणिज्य बैंकको साधारण सेयर ?

laxmi

तत्कलीन अर्थमन्त्री डा.रामशरण महतले वाणिज्य बैङ्कको स्वर्णजगन्तीको अवसरमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रियालाई निकै जोड दिएका थिए । तर नतिजा भने निस्किन समेन ।
सरकार परिवर्तनसँगै अन्योलमा परेको सेयर जारी प्रक्रिया अर्थमन्त्री विष्णु पौडेलको प्राथमिकतामा परेन । सरकारी स्वामित्वको एउटा वाणिज्य बैंक आवश्यक हुने भन्दै यो प्रक्रिया रोकिएको थियो । यसबीचमा बैंकको नेतृत्व पनि परिवर्तन भयो ।

बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा किरणकुमार श्रेष्ठको प्रवेशसँगै फेरी यो विषयले गति लिएको छ । हाल साधारण सेयर जारी गर्ने प्रस्ताव पारितको लागि मन्त्रीपरिषदमा पेश भएको बैंकले जानकारी दिएको छ । मन्त्रीपरिषद्बाट प्रस्ताव पारित भएर आएसँगै सर्वसाधारणमा सेयर जारी गरिने बैंकको भनाई छ । सर्वसाधारणमा सेयर जारी घोषणा गरेको २ वर्ष पछि पुनःप्रक्रिया अघि बढेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । उक्त पूँजीबाट सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गर्न लागेको छ । जसअनुसार बैंकले सर्वसाधारणमा २ अर्ब ७० करोड रुपैयाँ बरावरको आईपीओ जारी गर्ने छ । बैंकले प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेको छ । तर कति प्रमियम मूल्य जोडेर सर्वसाधारणमा सेयर जारी गर्ने भन्ने विषयमा छलफल नभएको बैंक स्रोतले बताएको छ ।

बैंकले पौष मसान्त सम्ममा कुल निक्षेप १ खर्ब ३८ अर्ब रुपैयाँ संकलन गरी ९३ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिकमा बैंकले करिव १ अर्ब ३० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

सवैभन्दा बढी शाखा संजाल रहेको सो बैंकले देशका ६८ जिल्लामा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल १ सय ७१ वटा शाखा, ९० वटा एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ७५ स्थानमा शाखा रहित बैंकिङ सेवा दिँदै आएको छ । चालु आर्थिक वर्षमा थप १८ वटा शाखा, ४० वटा एटिएम र २५ स्थानमा शाखा रहित बैंकिङ सेवा विस्तार गर्ने योजना रहेको बैंकका सीईओ किरणकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL