Logo

सानजोसेसँगको ठेक्का रद्द पछि पुनः टेन्डर आह्वान, ४ वर्ष पछि धकेलियो स्तरोन्नती

सानजोसेसँगको ठेक्का रद्द पछि पुनः टेन्डर आह्वान, ४ वर्ष पछि धकेलियो स्तरोन्नती


रक्षा रेग्मी
0
Shares

काठमाडौं । स्पेनिस कम्पनी सानजोसेसँगको ठेक्का रद्द पछि नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल स्तरोन्नतीका लागि पुनः बोलपत्र आब्हान गर्ने भएको छ । प्राधिकरणले आगामी जनवरीमा बोलपत्र आवह्वानको तयारी गरेको हो ।

टेन्डरमा राष्ट्रिय कम्पनीमात्र सहभागी हुन पाउने वा अन्तरराष्ट्रिय पनि सहभागी गराउने भन्ने विषयमा भने टुङ्गो नलागेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।‘हालसम्म भएको काम र बाँकी कामबारे अध्ययन गरेर राष्ट्रिय वा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने भन्ने विषयमा निर्णय गर्नेछौं’ उनले भने ।

श्रेष्ठका अनुसार सानजोसेसँगको ठेक्का रद्दगरेसँगै बैंक ग्यारेन्टी बसेका नेपाल इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकले प्राधिकरणलाई सो वापतको रकम समेत भुक्तानी गरिसकेका छन् । त्यस्तै ती बैंकले केही दिनभित्रै ग्यारेन्टी वापतको पैसा स्पेनिस बैंकबाट पाउने छन् । जसअनुसार इन्भेष्मेन्ट बैंकले १ अर्व २९ करोड र लक्ष्मी बैंकले ३५ करोड पाउने छन् ।

२०१६ भित्र स्तरोन्तती सकिने भनिएपनि हालसम्म स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले १६ प्रतिशतमात्र काम सम्पन्न गरेको छ । सो कम्पनीले पशुपति क्षेत्रको माटो पाए मात्र काम अघि बढाउने बताएको थियो । तर पुशपतिको माटो दिन नमिल्ने भएपछि सानजोसेसँगको सम्झौता खारेज गरिएको हो ।

प्राधिकरणले अव सन् २०२० सम्म स्तरोन्नती गर्ने गरी नयाँ कम्पनी छनौट गर्ने छ । हालको सम्झौता अनुसार सान्जोसेले मार्च २०१६ सम्म विस्तारको सम्पूर्ण काम पुरा गरिसक्नुपर्ने थियो । सान्जोसेले २०१३ मार्चबाट काम शुरु गरेको थियो ।

त्यस्तै समयमै काम नसकिदा निर्माण लागत समेत बढ्ने अनुमान गरिएको छ । उक्त आयोजना निर्माणका लागि ६ अर्ब रुपैयाँमा सम्झौता गरिएको थियो ।

उक्त विस्तार आयोजनाको गुहेश्वरीतर्फ २० लाख घनमिटर माटो भर्ने ठाउँमा हालसम्म ५ लाख घनमिटर मात्र माटो भरेको छ । सम्झौता अनुसार कन्ट्रायक्टरले आफै माटो खोजेर उक्त खाल्डो भर्नुपर्ने हुन्छ । तर, सो खाल्डो पुर्नका लागि पशुपतिको माटो दिएमात्र काम गर्ने बताएकोले सम्झौता रद्द गर्न बाध्य भएको हो ।

त्यस्तै रनवे एक्स्टेन्सन मार्च सम्ममा सक्नुपर्नेमा खाल्डो मात्र खनिएको छ भने आइटीबी विल्डिङको हालसम्म पिल्लर मात्र खडा गरिएको छ । त्रिभुवन विमानस्थलको विस्तार एशियाली विकास बैंकको सहयोगमा बनाउन लागिएको हो । त्यसको कन्सल्ट्यान्टिङ नेपाल सरकारले गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL