Logo

आगामी आवको लागि रेल विभागले माग्यो २५ अर्ब रुपैयाँ बजेट, यस्ता छन् विभागले तयार पारेका रेल परियोजना

आगामी आवको लागि रेल विभागले माग्यो २५ अर्ब रुपैयाँ बजेट, यस्ता छन् विभागले तयार पारेका रेल परियोजना



काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि रेल विभागले २५ अर्ब रुपैयाँ बजेट माग गरेको छ । जारी लकडाउन पछि कामलाई तीब्रता दिने, केरुङ–काठमाडौं रेलमार्ग, काठमाडौं–रक्सौल, पूर्वपश्चिम रेलमार्ग, ईनरुवा–कांकटभिट्टा रेलमार्गको टेण्डर गर्नेलगायतका परियोजनाका लागि विभागले उक्त बजेट माग गरेको हो ।

laxmi

विभागले चालु आवमा ७ अर्ब ७० करोड रुपैयाँ प्राप्त गरेको भए पनि हालसम्म साढे ५ अर्ब रुपैयाँमात्र खर्च गरेको छ । विभागका अनुसार बिभिन्न समस्याले बाँकी रहेको रकम भने खर्च गर्न सकेको छैन । लकडाउन खुलेपछि कामलाई तीब्रता दिने र बाँकी रकम खर्च हुने विभागको भनाई छ । विभागका महानिर्देशक बलराम मिश्रले भने लकडाउन खुलेपछि विभागलाई उक्त बाँकी रकम अपुग हुने बताए । थप गर्नुपर्ने अवस्थासमेत रहेको छ ।

विश्वमै महामारीको रुप लिएको कोरोनाको प्रभावका कारण मन्त्रालयको आगामी बजेट एक तिहाइ खुम्चिने अनुमान रहे पनि बिभागको बजेट भने तेब्बर भएर आउने महानिर्देशक मिश्रको भनाई छ । उनले भने, ‘यसका लागि हामीले हाम्रै मन्त्रालय, र अर्थमन्त्रालयसँग कुरा गरिसकेका छौं । उहाँहरु यसका लागि पोजेटिभ देखिनुभएको छ । मलाई लाग्छ २५ अर्ब नभए पनि २२ अर्ब हामीले पाउँछौं ।’

कोरोनाका कारण रोकिएको बिभिन्न रेलमार्गको काम अहिले सुभारु हुन थालेको छ भने करिब ४ सय कामदारमार्फत विभिन्न स्थानमा काम भइरहेको छ । विभागले हाल बाह्य कामदारमार्फत गर्नुपर्ने काम बाहेकका अन्य काम भने श्रोतसाधन जुटाएर स्वास्थ्य सुरक्षाको विधि अपनाएर गरिरहेको छ । आगामी आवको बजेटले केरुङ–काठमाडौं रेलमार्ग, काठमाडौं–रक्सौल, पूर्वपश्चिम रेलमार्ग, ईनरुवा–कांकडभिट्टा रेलमार्गको कामलाई अगाडि बढाइने विभागकले जानकारी दिएको छ ।

ईनरुवा–कांकडभिट्टाको १ सय ६ किलोमिटरको काम भने लकडाउन खुले पछि टेण्डर गर्ने तयारीमा विभाग रहेको छ । तर आन्तरिक बोलकबोलमा जाने कि ग्लोबल बोलकबोलमा जाने भन्ने विषयमा भने अहिले छलफलकै चरणमा रहेको मिश्रले बताए । मिश्रले भने, ‘१०६ किमि रेलमार्गमा काम तीव्र गतिमा गर्ने भनेपछि बजेट घट्ने भन्ने त हुँदैन । गत वर्षभन्दा बढी नै आउने अपेक्षा गरेका छौं ।’

त्यस्तै जयनगर–जनकपुर रेलमार्गको काम सम्पन्न भए पनि लकडाउनका कारण चालु आव भित्रै रेल संचालन गर्न नसकिने भएको छ । सरकारले लकडाउन लम्ब्याएर जेठ ५ गते सम्म पुर्याएपछि सो रेलमार्गमा यो आवमा रेल चल्ने संभावना नरहेको हो । ‘अहिले सम्पूर्ण गाडी, हवाई यातायात बन्द भएको अवस्थामा रेल सञ्चालनमा थप समय लाग्ने अवस्था छ’, मिश्रले भने ।

सरकारले जीटुजीमार्फत भारत सरकारलाई दुई सेट रेल निर्माणको जिम्मा दिएको थियो । उक्त रेल अहिले बाटोमा छ लकडाउनका कारण नेपाल प्रवेश गर्न पाएको छैन मिश्रले भने । यस अघि बिभिन्न समयमा रेल संचालन गर्ने मिति तोकिए पनि बिभिन्न समयमा आईपरेका समस्याले गर्दा समयमै रेल संचालन गर्न सकिरहेको छैन ।

तर लकडाउन खुले पछि भने कर्मचारी भर्ना गरेर उक्त रेलमार्र्गमा रेल संचालन गर्ने विभागको तयारी रहेको छ । हाल नेपालसँग दक्ष प्राविधिक नभएकाले पनि केही समय भारतीय कामदार ल्याउने र नेपाली कामदार दक्ष भए पछि मात्रै नेपालीले उक्त रेल संचालन गर्न सक्नेछन । २ बर्षको लागि भने भारतीय प्राविधिकले नै नेपालको रेल संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL