Logo

गार्मेण्ट उद्योगका लागि यसैहप्ता सिमराको सेज खुला, १६० बिघामा ७० प्लट रहने

गार्मेण्ट उद्योगका लागि यसैहप्ता सिमराको सेज खुला, १६० बिघामा ७० प्लट रहने



काठमाडौं । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)ले गार्मेन्ट उद्योग स्थापनाका लागि आवेदन माग गर्ने भएको छ । हाल गार्मेण्ट स्थापनाका लागि सिमरा स्थित सेजमा सम्पूर्ण तयारी पूरा भएको र यसैहप्ता आवेदन माग गरिने सेजका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिए ।

laxmi

‘हामीले सिमरा सेजभित्र १ सय ६० बिघा जग्गामा छुट्टै ‘गार्मेण्ट प्रसेसिङ जोन’ बनाएका छौं,’ भट्टले भने, ‘त्यसको सम्पूर्ण तयारी भईसकेको छ आवेदन माग गरेर उद्योग स्थपना गर्न मात्र बाँकी हो ।’

भट्टका अनुसार गार्मेण्ट प्रोसेसिङका लागि उक्त जग्गामा ७० ओटा ब्लक तयार गरिएको छ । उक्त ब्लकमा गार्मेण्ट उद्योग राख्न चाहने व्यवसायीहरुका लागि लेटर अफ इन्टेण्ट (एलओआई) माग गर्न लागिएको उनले जानकारी दिए । प्रत्येक ब्लकमा २ बिघाभन्दा बढी जग्गा हुनेगरी तयार पारिएको छ ।

उक्त क्षेत्रमा गार्मेण्ट उद्योग राख्न चाहनेका लागि आवश्यक बाटो विजुली लगायतका पूर्वाधार तयार गरिसकेको भट्टले जानकारी दिए । व्यवसायीले आवेदन दिएसँगै उनीहरुको दक्षता र क्षमता हेरी उद्योग संचालनका लागि अनुमति दिईने भएको छ ।

सरकारले सिमरामा कुल ८ सय ४० बिघा जग्गामा सेज संचालनमा ल्याउन लागेको छ । जसमध्ये १ सय ६० बिघा जग्गामा गार्मेन्ट प्रोसेसिङ प्लाण्ट संचालमा आउने छ ।

थप १ सय ५० बिघा जग्गालाई हिजो सम्पन्न लगानी सम्मेलनमार्फत सेजकै रुपमा अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले विकास गर्ने गरी सम्झौता भएको छ । उक्त जग्गामा आईएफसीले २ महिनाभित्र सम्भाव्यता अध्ययन गरी सेजको रुपमा विकास गर्ने भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL