Logo

जुत्ता निर्यात गर्दै मारुती शु, दैनिक १५ हजार जोर उत्पादन

जुत्ता निर्यात गर्दै मारुती शु, दैनिक १५ हजार जोर उत्पादन


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । मारुती शु इन्डष्ट्रिजले जुत्ता निर्यात गर्ने भएको छ । विराटनगरमा कारखाना रहेको सो उद्योगले भारतीय बजारमा जुत्ता निर्यात गर्न लागेको हो । स्वदेशी बजारमा मात्र आफ्ना उत्पादन विक्रीवितरण गर्दै आएको सो कम्पनीले आगामी दिनमा स्पोर्टस शु निर्यात गर्न लागेको मारुती शुका अध्यक्ष रामकृष्ण प्रसाइले बिजखबरलाई बताए ।

laxmi

प्रसाइका अनुसार हाल जुत्ता उत्पादनका लागि प्लाण्ट राख्ने काम भइरहेको र संचालनमा आउने वित्तिकै निर्यात गरिने छ । ‘नयाँ प्लाण्टबाट जुत्ता उत्पादन शुरु गर्न २ महिना जति लाग्ने छ,’ उनले भने, ‘उत्पादन शुरुभएसँगै निर्यातको तयारी गरिने छ ।’ आफुहरुले भारतीय बजारलाई लक्षित गरेर जुत्ता निर्यात गर्न लागेको समेत उनले जानकारी दिए ।

हाल भारतीय बजारमा किरण शु म्यानिफ्याचरर्सबाट उत्पादित गोल्डस्टार जुत्ता निर्यात हुँदै आएको छ । अव केही समयभित्रै मारुती शुबाट उत्पादित शिखर वा इजी शु निर्यात हुने प्रसाइ बताउँछन् । ‘भारतीय बजारमा गोल्ड स्टार जुत्ताका कारण ‘मेड इन नेपाल’ भन्ने प्रचलित नै भइसकेको छ,’ प्रसाइले भने, ‘जसले गर्दा हामीले पनि भारतीय बजारमा सहजै आफ्नो उपस्थिती जनाउन सक्नेछौं ।’ भारतीय बजारमा यस अघि नै नेपाली जुत्ताले राम्रो पकड बनाएकाले आगामी दिनमा आफुहरुले ठूलो संघर्ष गर्न नपर्ने समेत उनको भनाइ थियो ।

प्रसाइकका अनुसार हाल मारुती शुबाट दैनिक १ हजार जोर जुत्ता उत्पादन भइरहेको छ । नयाँ प्लाण्टबाट उत्पादन शुरु भएसँगै दैनिक १५ हजार जोर जुत्ता उत्पादन हुने छ ।’ उक्त प्लाण्टबाट बेसिक खालका स्पोर्टस शु उत्पादन गरिने छ । आफुहरुले जुत्ता निर्यातकै लागि लक्षित गरेर विराटनगरमा नयाँ प्लाण्ट स्थापना गरिएको उनले बताए ।

मारुती शुमा हालसम्म २५ करोड रुपैयाँ लगानी भइसकेको छ । आगामी दिनमा थप लगानी गरेर ४० करोड रुपैयाँसम्म पुर्याइने प्रसाइले जानकारी दिए । मारुती शुले चाइनाबाट अत्याधुनिक प्लाण्ट ल्याएर जडान गर्दै छ । हाल चाइनिज टेक्निसियनले नै उक्त प्लाण्ट जडान गरिहेका छन् ।

हाल प्रसाइले शिखर शु र मारुती शु संचालन गर्दै आएका छन् । जुत्ता उद्योगमा मात्र आफ्नो १ अर्ब रुपैयाँभन्दा बढी लगानी भैसकेको उनले जानकारी दिए ।

शिखरले सयौ मोडलका जुत्ता तथा चप्पल बजारमा ल्याएको छ । हाल कम्पनीले पार्टी वेयर, क्जुअल, स्कुल, कलेज, स्पोर्टस सुज तथा चप्पल स्थापना गर्दै आएको छ । त्यसैगरी, गत वर्ष नयाँ प्लाण्ट राखेर आर्मी तथा प्रहरीका लागि आवश्यक बुट उत्पादन शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL