Logo

९ महिनामै नेपालको जनसंख्या बरावर जुत्ता आयात, कहाँ गयो स्वदेशी उत्पादन ?

९ महिनामै नेपालको जनसंख्या बरावर जुत्ता आयात, कहाँ गयो स्वदेशी उत्पादन ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपालमा जुत्ता उद्योग खुल्ने क्रम बढेपनि सो सँगै आयात पनि बढेको छ । नेपाली छाला जुत्ता व्यवसायीहरुले विदेशी जुत्ताहरु प्रतिस्थापन भइरहेको बताइरहदा भन्सार विभागको तथ्याङ्कले भने बढेको देखाएको छ ।

laxmi

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनामा २ करोड ७६ लाख जोर जुत्ता तथा चप्पल आयात भएको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ लाख जोरले बढी हो । गत आवको सो अवधिमा २ करोड ६३ लाख जुत्ता तथा चप्पल आयात हो । जुन जुत्ता चप्पल आयात नेपालको जनसंख्या बरावर हुन आउँछ ।

तथ्याङ अनुसार जुत्ताको भ्यालु पनि उच्च रुपमा बढेको छ । गत आवको ९ महिनामा २ अर्ब १५ करोड रुपैयाँको जुत्ता चप्पल आयात भएको थियो । तर, चालू आवको सोही अवधिमा २ अर्ब ६० करोड रुपैयाँको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँको बढी हो ।

कतिपय स्वदेशी जुत्ता उत्पादकहरुले आयातित जुत्ता तथा चप्पलमा लेवलिङ गरेर बेच्ने क्रम बढेकोले आयात ह्वात्तै बढेको सरोकारबालाहरु बताउँछन् । ‘पछिल्लो समय उद्योग खुल्नुभन्दा पहिला त्यसका उत्पादनहरु बजारमा आउने गरेका छन्,’ एक जुत्ता व्यवसायीले भने, ‘चीन तथा भारतबाट आयात गरिएका जुत्तालाई नेपाली नाम तथा लेवल राखेर बेच्ने प्रबृत्ति बढेकोले झन आयात बढेको हो ।’ पछिल्लो समय बजारमा नेपाली ब्राण्डका लेवल टासेर जुन स्तरका स्पोर्टस जुत्ता विक्री भइरहेको छ नेपालमा त्यस्ता जुत्ता उत्पादन गर्ने मेशिन नै नभएको एक व्यवसायीले बताए ।

हाल भन्सार नाकामा कडाइ गर्दा आयातमा बृद्धि भएको फुटवेयर म्यानुफ्याक्चरर्श एशोसियशनका अध्यक्ष तथा कोशेली शूका प्रवन्ध निर्देशक रविनकुमार श्रेष्ठले जानकारी दिए । ‘पहिला चाइनीज जुत्ताहरु तातोपानी भन्सारबाट कम परिमाण देखाएर आयात हुँदै आएका थिए,’ उनले भने, ‘हाल भन्सार नाकामा कडाइ गर्दा वास्तविक परिमाण देखिन आएको हो ।’ आयात केही मात्रामा बढेको देखिएपनि नेपाली उत्पादन पनि बृद्धि भइरहेको उनको भनाइ थियो ।

भुम्कप तथा नाकाबन्दीका नेपाली उद्योगहरु संचालनमा आउन नसक्दा केही मात्रामा आयात बढेको फुटवेयर म्यानुफ्याचरर्श एशोसियशनका पूर्व अध्यक्ष तथा शिखर शूका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । ‘अघिल्ला वर्षको तुलनामा नेपाली जुत्ता तथा चप्पलको उत्पादन बढ्दै गएको छ,’ उनले भने, ‘चालू आवमा विभिन्न खालका समस्या तथा कच्चा पदार्थ र मजदूरको अवभावले गर्दा नेपाली उद्योगका केही समस्या आएको छ ।’

हाल नेपाली उद्योगहरुले आफ्ना उद्योगको क्षमता विस्तार गर्दै गएको र केही समयभित्रै आयातमा उच्च गिरावट आउने उनको दावी छ । नेपालमा वार्षिक ६ करोड जोर जुत्ताभन्दा बढी खपत हुने गरेको र जसले गर्दा आयातमा सामान्य बृद्धि भएको हुन सक्ने समेत उनले जानकारी दिए ।

पछिल्लो समय सरकारले जुत्ता तथा चप्पलमा लाग्दै आएको भन्सार शुल्क बृद्धि गरेकाले पनि मुल्यमा बढी फरक पर्न गएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । चीनबाट प्रतिजोर भन्सार मुल्य २ डलर तिरेर आयात गर्दै आएकोमा हाल बढाएर २२ डलर पुर्याइएको छ । यसैगरी भारतबाट आयात गर्दा लाग्ने भन्सार शुल्कमा पनि दोब्बरले बृद्धि गरी ६ सय भारु पुर्याइको छ । जसले गर्दा मुल्य उच्च रुपमा बढ्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL