Logo

असार १९ भित्र बैंकहरुलाई मर्जर पार्टनर खोज्न गभर्नरको निर्देशन, सुशासन कायम राख्न ‘विग मर्जर’

असार १९ भित्र बैंकहरुलाई मर्जर पार्टनर खोज्न गभर्नरको निर्देशन, सुशासन कायम राख्न ‘विग मर्जर’



काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई यही असार १९ गतेभित्र आफुले मर्जर गर्ने बैंकहरुको पार्टनर खोजी गरेर जानकारी दिन निर्देशन दिएको छ । आज सबै बाणिज्य बैंकका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई एक ठाउँमा भेला गराई कुन संस्थासँग मर्ज गर्ने हो सोको जानकारी असार १९ गतेभित्र जानकारी राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले निर्देशन दिएका हुन् ।

laxmi

आगामी आर्थिक बर्षको बजेटले बाणिज्य बैंकहरुलाई प्रोत्साहन मर्जरमा लैजाने उल्लेख गरेसँगै राष्ट्र बैंकले मर्जरका लागि दवाब दिँदै आएको छ । पटक पटक बाणिज्य बैंकहरुलाई मर्जरमा जान सुझाउँदै आएको राष्ट्र बैंकले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मिति नै तोकिदिएको हो ।

पछिल्लो समय कतिपय बैंक वित्तीय संस्थाले विग मर्जर वा फोर्स मर्जरको आवश्यकता नभएको बताउँदै आएका थिए । तर, राष्ट्र बैंकले प्रिजेन्टेसन’ दिँदैे पछिल्लो समय बैंक वित्तीय संस्थामा संस्थागत सुशासनमै ठूलो समस्या देखिएकाले त्यसलाई रोक्नका लागि पनि विग मर्जर आवश्यक भएको निष्कर्ष निकालेको छ ।

कमजोर जोखिम ब्यवस्थापनको काम, तरलताको मिसम्याच, दैनिक कार्यसञ्चालनमा सञ्चालक समिति र प्रवद्र्धधकहरुले प्रभावित गर्ने गरेको, संचालकहरुले आफुखुशी ऋण दिने क्रम बढेको र त्यस्तो जोखिम न्यूनिकरणका लागि पनि मर्जर आवश्यक भएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले आफ्नो प्रस्तुति दिँदै पछिल्लो समय खराब कर्जा बढ्न थालेको तथा आधार र स्प्रेड दरलाई पनि स्थायित्व पनि मर्जर आवश्यक भएको उल्लेख गरेको छ । साथै बैंक वित्तीय संस्थाले प्राथमिकता प्राप्त क्षेत्र तथा विपन्न बर्गमा तोकिए अनुरुप कर्जा प्रवाह नगरेको सिसिडी तथा सिआरआर पुरा नगरेको र दोहोरो वित्तीय विवरण तयार गरी कर्जा हिसाव मिलान गरेको जस्तो आरोप लगाएको छ ।

साथै अबका दिनमा ठूला आयोजनामा लगानी गर्न तथा जनताको निक्षेपलाई सुरक्षित राख्न पनि बैंक वित्तीय संस्थाको पोर्टफोलियो ठूलो हुनुपर्ने राष्ट्र बैंकको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL