Logo

लकडाउनमा ३३ अन्तरराष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी पर्यटक

लकडाउनमा ३३ अन्तरराष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी पर्यटक



काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तरराष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तरराष्ट्रिय उडान भएका छन् ।

laxmi

विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तरराष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तरराष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विसं २०७६ चैत १० देखि २०७७ वैशाख १२ गतेसम्म विभिन्न अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले ३३ अन्तरराष्ट्रिय उडान गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् ।

प्रवक्ता क्षेत्रीका अनुसार लकडाउनको अवधिमा यही वैशाख ८ गतेसम्म चार हजार ५३२ विदेशी नागरिक स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै श्रीलङ्काले आफ्नो श्रीलङ्कन एयरको चार्टर्ड जहाजमार्फत नेपालमा रहेका ७६ विद्यार्थी स्वदेश लगेको थियो । यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको ९, नेपाल वायुसेवा निगमको (चार कार्गो र चार उद्धार उडानसहित) ८, टीटान एयरको ३, श्री एयरलाइन्सको (सुडान र सिङ्गापुर कार्गो उडान) २, बुद्ध एयरको १ र कोरियन एयरको २ उडान भए । त्यसैगरी भूटानको ड्रक एयर, श्रीलङ्कन, मलेशिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन, रोयल फ्लाइट एयर र जर्नी एयरलाइन्सको समान १–१ उडान भएका छन् ।

यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका मलेशिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३ नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउनको अवधिम उल्लेख्य संख्यामा कार्गो र उद्धार उडान भएका छन् । आन्तरिकमा १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान गर्छन् । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लोपटक वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो । वैशाख १८ सम्म अन्तरराष्ट्रिय हवाई उडान स्थगन गरिएको छ । आन्तरिक उडान पनि स्थगन भएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत १० देखि लागू हुने गरी चैत ९ गते नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । समितिले पछिल्लोपटक वैशाख १८ सम्म अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL