Logo

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्यो, विदेशी भन्दा आन्तरिक पर्यटकको चाप

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्यो, विदेशी भन्दा आन्तरिक पर्यटकको चाप



काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू आवको साउनदेखि हालसम्म आन्तरिक पर्यटक ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०७५/७६ को असार मसान्तसम्म स्वदेशी ५ हजार ७४०, सार्क मुलुकका १५४ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए ।

laxmi

आव २०७४/७५ मा ४ हजार ७४० पर्यटकले अवलोकन गरेका थिए । आन्तरिक पर्यटक ४ हजार २८१, सार्क मुुलुकका २६६ र विदेशी १९३ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७३/७४ को सोही अवधिमा निकुञ्जमा २ हजार ६४० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । स्वदेशी २ हजार ३७३, सार्क मुलुकका १३० र विदेशी १३७ ले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७२/७३ मा निकुञ्जमा १ हजार ६४९ पर्यटकले अवलोकन गरेका थिए । स्वदेशी १ हजार ६४९, सार्क मुलुकका ९५ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए ।

निकुञ्जको प्रचार–प्रसार, आरक्षबाट निकुञ्जमा स्तरोन्नति र निजी क्षेत्रबाट पर्यटक बढाउनका लागि गरिएका प्रयासले पर्यटकको संख्यामा वृद्धि भएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले बताए । निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, हिसपिडखरायो र विभिन्न प्रजातिका चराहरु पर्ने गरेका छन् ।

एकपटक निकुञ्ज घुम्न आउने पर्यटक दोहोर्याएर घुम्नका लागि पुग्ने गरेको चौधरीले बताए । उनका अनुसार दैनिक ७ देखि १० जना भन्दा बढी विदेशी पर्यटक निकुञ्ज अवलोकनका लागि पुग्ने गरेका छन् । घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ ।

३ सय पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गाको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघ र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ । नेपालको तराईका संरक्षित क्षेत्रहरुमा रहेको घाँसेमैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ । क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL