Logo

३२ जिल्लामा टेलिकमको फोरजी विस्तार अन्तिम चरणमा, बुधबार प्रधानमन्त्रीले उद्घाटन गर्दै

३२ जिल्लामा टेलिकमको फोरजी विस्तार अन्तिम चरणमा, बुधबार प्रधानमन्त्रीले उद्घाटन गर्दै



काठमाडौं । नेपाल टेलिकमले फोरजी विस्तारको तयारी पुरा गरेको छ । बुधबारदेखि ३२ जिल्लाका मुख्य शहरहरुका संचालनमा ल्याउन लागिएको टेलिकमको फोरजी सेवाका लागि सबै तयारी पुरा भएको टेलिकमले जानकारी दिएको छ ।

laxmi

टेलिकमले पहिलो चरण अन्तर्गत सातै प्रदेशलाई छुनेगरी बुधबारदेखि ३२ जिल्लाका मुख्य शहरहरुमा फोरजी सेवा संचालनमा ल्याउन लागिएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिएकी छन ।

यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने टेलिकमको भनाई छ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुनेछ ।

बुधबार बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ जिल्लाका मुख्य शहरहरुमा फोरजी सेवाको सफ्ट लन्च गर्नेछन । टेलिकमले फोरजी विस्तारको पहिलो चरण अन्तर्गतका मुख्य शहरहरुमा कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्यान) को जडान, स्थापना लगायतका काम सम्पन्न गरेको छ । उक्त स्थापना पस्चात सबै क्षेत्रमा परिक्षण सम्पन्न भएपछि टेलिकमले बुधबारदेखि संचालनमा ल्याउन लागेको हो ।

टेलिकमले देशभर १ बर्ष्भित्र फोरजी सेवा विस्तार गर्नका लागि गत माघमा चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको थियो । जेडटीईले नेपालभरका ५ स्थानमा कोर नेटवर्क स्थापनाको लागि सम्झौता गरेको थियो ।

विस्तारित फोरजी/एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले उक्त फोरजी सेवा संचालनमा ल्याएपछि फोरजी ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ । यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ ।

यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइने छ । यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ ।

यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ ।

साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ । यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहनेछ ।

जेडटीईले हालसम्म काठमाडौं, हेटौंडा, बुटवल, नेपालगंज र विराटनगरमा कोर नेटवर्क विस्तार गरिसकेको छ । यस्तै सीसीएसआई हङकङले भने नयाँ बीटीएस टावर निर्माण गर्ने र र्यान विस्तार गर्ने काम तिव्र गतिमा गरिरहेको छ । सोही अनुसार सीसीएसआईले र्यान विस्तार गरेका स्थानमा भने टेलिकमले फोरजी सेवा संचालन गर्न लागेको हो ।

नेपाल टेलिकम हाल आफ्ना फोरजी ग्राहकको संख्यामा निजी सेवाप्रदायक एनसेल भन्दा धेरै पछि छ । नेपाल टेलिकमले एनसेलभन्दा अघि नै आफ्नो फोरजी सेवा संचालनमा ल्याएपनि सोही अनुसार विस्तार हुन नसक्दा पछि परेको थियो । तर अब टेलिकमले पनि आफ्नो फोरजी सेवा सबै क्षेत्रमा उपलब्ध गराउने भएपछि टेलिकमका फोरजी ग्राहक संख्या बढ्ने टेलिकमको धारणा छ ।

गत असारसम्म नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या ८ लाख ९३ जना रहेको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ । यस्तै निजी सेवाप्रदायक एनसेलले भने आफ्ना फोरजी ग्राहककको संख्या २९ लाख ३० हजार १ सय ८९ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL