Logo

जनकपुरमा टेलिकमको एफटीटीएच सेवा, १ बर्षका लागि ८ हजारमा ८ एमबीपीएसको प्याक

जनकपुरमा टेलिकमको एफटीटीएच सेवा, १ बर्षका लागि ८ हजारमा ८ एमबीपीएसको प्याक



काठमाडौं । नेपाल टेलिकमले जनकपुरमा आफ्नो फाईबर टु दी होम (एफटीटीएच) सेवा संचालनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले शुक्रबार जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएचसेवाको औपचारिक शुभारम्भ गरेका हुन ।
दूरसञ्चार कार्यालय जनकपुरको प्राङ्गणमा आयोजित सो कार्यक्रममा माननीय मन्त्रीले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन ।

laxmi

उक्त कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई साकार बनाउदै राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नका लागि नेपाल टेलिकमले सधैँ सरकारलाई साथ दिनुपर्ने बताएका छन ।

उनले आगामी वर्ष धेरै आयोजनाहरु सम्पन्न गर्नुपर्ने भएकाले नेपाल टेलिकमको लागि समृद्धिको वर्ष हुने र कम्पनीको सेवाप्रति आम ग्राहकको उच्च आस्थालाई निरन्तरता दिनका लागिसमेत कम्पनी थप ग्राहकमुखी हुदै जानुपर्ने बताए ।

जनकपुरमा हाल २ हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २ सय ४० लाइन वितरण भैसकेको र निकट भविष्यमा थप लाइन जडान र वितरण गर्ने कार्यक्रम रहेको छ । जनकपुर क्षेत्रमा ८ एमबीपीएस देखि ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराइने छ । वित्तीय संस्थाहरुलाई लिज लाइनको व्यवस्था पनि फाइबरबाट उपलब्ध गराइने छ । एक वर्षका लागि ८ एमबीपीएसको प्याक ८ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ । यसवापत एक थान वाइफाई राउटर र एक सय मिटरसम्म फाइबर निःशुल्क उपलब्ध गराइने छ । नयाँ लाइन जडानको समयमा भ्वाइस सेवा तीन महिनाका लागि निःशुल्क उपलब्ध गराइने छ ।

हाललाई यो सुविधा जनकपुरको भानुचोकदेखि शुभचोक, रेलवे स्टेसन, वकिल टोल एरिया र विद्यानगर सम्म उपलब्ध गराइने छ । यस्तै जनकपुर चुरोट कारखाना पूर्व गेटदेखि पिडारी चोक पूर्वसम्म परिक्रमा सडकमा र जनकचोकदेखि भानुचोक सम्म मेनरोडमा उपलब्ध छ । नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL