Logo

मर्चेन्ट बैंकको चुक्ता पूँजी ३ गुणाले बढ्यो, भेञ्चर क्यापिटल र हेज फण्ड संचालन गर्न पाउने

मर्चेन्ट बैंकको चुक्ता पूँजी ३ गुणाले बढ्यो, भेञ्चर क्यापिटल र हेज फण्ड संचालन गर्न पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकको चुक्ता पूँजी बृद्धि गरेको छ । बोर्डले मौजुदा धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ मा संशोधन गरी चुक्ता पूँजी बृद्धि गरेको हो ।

बोर्डले संसोधन गर्दै धितोपत्र व्यवसायी नियमावली, २०७४ जारी गरेको हो । सो नियामावली मंगलबारदेखि नै लागू हुने बोर्डले जानकारी दिएको छ । नियमालीले मर्चेन्ट बैंकरको कार्य क्षेत्रमा संस्थागत परामर्शदाताको कार्य थप गरी कार्य क्षेत्र बढाउनुका साथै मर्चेन्ट बैंकरको हालको चुक्ता पूँजी तीन गुणा भन्दा बढीले बृद्धि गरेको छ ।

बजारको विकास तथा वढ्दो जिम्मेवारी अनुरुप मर्चेन्ट वैंकरको वित्तीय अवस्था सुदृढ गर्न चुक्ता पूँजी बृद्धि गरी निष्काशन तथा बिक्री प्रबन्धकको न्यूनतम चुुक्ता पूँजी ३ करोड रुपैयाँबाट बृद्धि गरी ५ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) को ४ करोड रुपैयाँबाट ७ करोड रुपैयाँ, सेयर रजिष्ट्रारको १ करोड रुपैयाँबाट ३ करोड, लगानी व्यवस्थापकको १ करोड रहेकोमा ५ करोड रुपैयाँ र संस्थागत परामर्शदाताको ३ करोड रुपैयाँ हुने व्यवस्था गरेको छ ।

यसैगरी बोर्डले साविकको नियमावलीको व्यवस्था बमोजिम मर्चेण्ट बैंकरले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ्ग), सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापन सम्बन्धी कार्य गरी रहेकोमा उक्त कार्य क्षेत्र विस्तार गरी सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवा प्रदान गर्ने सम्बन्धी संस्थागत परामर्शदाताको रुपमा समेत कार्य गर्न सक्ने गरी मर्चेन्ट बैंकरको दायरा फराकिलो बनाएको छ ।

सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैङ्किङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्ति (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैङ्किङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने व्यवस्था गरिएको छ । साथै मुख्य कम्पनीहरु मर्ज वा एक्विजिसनमा गएमा सहायक कम्पनीहरुको समेत मर्जर र एक्विजिसन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मर्चेन्ट बैंकरको सेयर धनीले आपूmले ग्रहण गरेको सेयर बिक्री वा हस्तान्तरण गर्नु भन्दा पहिले बोर्डमा तत् सम्बन्धी अभिलेख गराउनु पर्ने व्यवस्था गरी मर्चेण्ट बैंकरको सेयर विक्री वा हस्तान्तरण प्रक्रियालाई व्यवस्थित गरिएको छ ।

धितोपत्र व्यवसायमा हुन सक्ने कन्ल्फिट अफ इन्ट्रेस्टलाई न्यूनिकरण गरी सुशासन कायम गर्न कुनै एक मर्चेण्ट बैंकरमा स्वामित्व वा कुनै लाभको पद ग्रहण गरेको व्यक्तीले अन्य धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पद ग्रहण गर्न नपाईने व्यवस्था गरिएको छ । साथै निष्काशन तथा विक्री प्रबन्ध सेवामा हुन सक्ने अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साहित गर्न निष्काशन तथा विक्री प्रबन्धक सेवाको लागि १ लाख रुपैयाँभन्दा कम सेवा शुल्क लिन नपाईने व्यवस्था गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL