Logo

अर्थमन्त्री माथि नीतिगत भ्रष्टाचारको आरोपछि भन्सारको प्रष्टिकरण, जेठमा ९३ वटामात्र विद्युतीय गाडि भित्रियो

अर्थमन्त्री माथि नीतिगत भ्रष्टाचारको आरोपछि भन्सारको प्रष्टिकरण, जेठमा ९३ वटामात्र विद्युतीय गाडि भित्रियो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सुचना व्यवसायीलाई चुहावट गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लागिरहेको समयमा भन्सार विभागले ठिक त्यसको विपरित तथ्याङ्क सार्वजनिक गरेको छ ।

laxmi

अर्थमन्त्री खतिवडाले विद्युतीय गाडिको भन्सार तथा अन्तशुल्क बढाउनु अघि व्यापारीक घरनालाई त्यस्ता गाडि बजेट भाषण अघि नै भन्सार नाकाबाट छुटाउन सुचना चुहावट गरेर ठूलो मात्रामा गाडि आयात गरिएको आरोप लगाईरहेको बेला भन्सार विभागले भने सो समयमा न्यून मात्रामा मात्र विद्युतीय गाडि आयात भएको बताएको छ ।

उक्त सुचनाको आधारमा बजेट भाषण हुनुभन्दा २ दिनअघि मात्र पारामाउण्ट मोर्टसले आयात गर्दै आएको एमजी ब्राण्ड लगायतका १५० भन्दा विद्युतीय गाडि आयात भएको बताईरहँदा भन्सार विभागले भने जेठ ८ गतेदेखि १५ गतेसम्म कुल १८ बटा मात्र गाडि आयात भएको जानकारी दिएको छ । साथै जेठ भरीमा कुल ९३ वटा विद्युतीय गाडि मात्र भन्सार जाँचपास भएको समेत भन्सारले जानकारी दिएको छ ।

जेठ महिनामा मिडियामा हल्ला भएभन्दा एकदमै न्यून मात्रामा मात्र विद्युती गाडिहरु भन्सार जाँचपास भएर भित्रिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । ‘चालू आर्थिक बर्षमा विभिन्न ब्राण्डका गरी कुल ५७४ विद्युतीय गाडि भन्सार जाँचपास भएर नेपाल भित्रिएका छन्,’ उनले भने, ‘जसमध्यै जेठमा ९३ वटा भित्रिए जुन नियमित प्रक्रिया अनुसार नै छन् ।’ उनका अनुसार गत आर्थिक बर्षको सोही महिनामा पनि ५४ वटा विद्युतीय गाडि भन्सार जाँचपास भएर नेपाल भित्रिएको थियो ।

साथै मिडियामा हल्ला भएजस्तो बजेट भाषण हुनुभन्दा केही दिन अघि मात्रै ठूलो संख्यामा भन्सार नाकाबाट विद्युतीय गाडि नछुटेको समेत उनले बताए । उनका अनुसार जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ वटा विद्युतीय गाडि भन्सार नाकाबाट छुटेका थिए ।

यसैगरी चालू आबको बैशाखमा ४५, चैतमा ८, फागुनमा ६, माघमा १२, पुसमा ९५, मंसिरमा ११२, कात्तिकमा २६, असोजमा ४२ र भदौंमा ४० र साउनका ९१ वटा विद्युतीय गाडि भन्सार जाँचपास भएर नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।

भन्सार दररेट जेठ १४ गते राती मात्र यकिन हुने भएकोले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने संभावना नरहेको समेत भन्सारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL