Logo

भुकम्पको ५ बर्ष : निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति, ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च

भुकम्पको ५ बर्ष : निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति, ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्ममा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जानकारी दिएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ लाभग्राहीको निजी आवास पुनर्निर्माणको चरणमा रहेको जानकारी दिएको हो ।

laxmi

२०७२ साल वैशाख १२ गते भूकम्प गएको ५ वर्ष पूरा हुन दुई दिनअघि विज्ञप्ति जारी गर्दै प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६ सय ५० पुगेकोसमेत जानकारी दिएको छ । निजी आवास पुनर्निर्माणका क्रममा करिव ५ लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ४ सय ९२ विद्यालय पुनर्निर्माणको क्रममा रहेका छन् । यस्तै ३२ जिल्लाका ९ सय २० सम्पदामध्ये ४ सय २ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७० वटा सम्पदामध्ये १ सय १ सम्पन्न भएका छन ।

१ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ६९ स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १ सय ४५ वटा पुनर्निर्माणको चरणमा रहेको छ । कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ४९ सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुनर्निर्माणको चरणमा छन् ।

पुनर्निर्माणअन्तरगत सुरक्षा निकायका १ सय ९४ संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन् । भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुमबासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै प्राधिकरणले ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत गराएको छ भने ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डिपिआर स्वीकृत भई निर्माणाधीन छन् । प्राधिकरणले ७ सय ६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ किमि सडकको पुनर्निर्माण सम्पन्न गरेको छ भने बाँकी ३ सय १९ किमि सडकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

त्यस्तै खानेपानी विभागमार्फत १ हजार खानेपानी योजनाको काम सम्पन्न भएका छन् भने १ सय वटा खानेपानी योजना कार्यान्वयनका चरणमा रहेको छ । प्राधिकरणले पुनर्निर्माणका क्रममा सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ गरी ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएको छ । यतिबेला कोभिड १९ को महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि १ महिनादेखि लकडाउन जारी रहेको उल्लेख गर्दै प्राधिकरणले पुनर्निर्माणका कार्यमा असर परेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL