Logo

४ महिनामा २ सय उद्योग दर्ता, साढे ७२ अर्व लगानी, वैदेशिक लगानी बढ्यो

४ महिनामा २ सय उद्योग दर्ता, साढे ७२ अर्व लगानी, वैदेशिक लगानी बढ्यो


रक्षा रेग्मी
0
Shares

काठमाडौं । चालु आर्थिक वर्षमा २ सयभन्दा बढी नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार चालु आवको ४ महिना उक्त उद्योग दर्ता भएका हुन् । गत आवमा उद्योग दर्ता कम भएपनि चालू आवमा लगानीकर्ताको मनोवल बढेकाले उद्योग दर्ता हुने क्रम बढेको विभागको भनाइ छ ।

विभागका अनुसार यी उद्योगमा ७२ अर्व ५६ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जसमध्ये ६७ अर्व ५४ करोड रुपैयाँको स्थिर पूँजी र ५ अर्व २ करोड रुपैयाँको चालु पूँजी रहेको छ । सो अवधिमा सवैभन्दा बढी लगानी उर्जा उद्योगमा भएको छ । उर्जामुलक उद्योगमा ५० अर्व ७६ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको हो । त्यस्तै सेवामूलकमा १० अर्व २५ करोड रुपैयाँको लगानीको प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

चालु आवको ४ महिनामा पर्यटनमुलक ७०, सेवामुलक ६८ र उत्पादनमुलक ४४ओटा उद्योग दर्ता भएका छन् । समीक्षा अवधिमा दर्ता भएका मध्ये ४४ ओटा ठूला, मझौला ३१ र साना १ सय २५ उद्योग रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । यी उद्योगबाट ८ हजार ६ सय ६६ जनाले रोजगारी पाउने उल्लेख गरिएको छन् ।
चालु आवमा दर्ता भएकामध्ये १ सय ३९ ओटा विदेशी लगानीका उद्योग छन् । सो अवधिमा विदेशी लगानीका १ सय २५ साना, मझौला ११ र ठूला ३ ओटा उद्योग दर्ताको प्रस्ताव आएका छन् ।

गत बर्ष भुकम्प तथा नाकाबन्दीले नेपालमा लगानी गर्न हच्किएका लगानीकर्ता विस्तारै आकर्षित हुन थालेको विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । गत आवमा जम्मा ४ सय १० ओटा उद्योग दर्ता भएका थिए । उनका अनुसार विदेशी तथा स्वदेशी लगानीकर्ताको मनोवल बढ्न थालेको छ । ‘गत बर्ष उद्योग दर्ता घटेपनि चालु आवबाट फेरी उत्साहजनक रुपमा बढेको देखिन्छ,’ उनले भने ।

उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको शुरु अर्थात साउनमा मात्र ५७ ओटा उद्योग दर्ता भएका थिए । साउनसम्म दर्ता भएका उद्योगमा जम्मा ४७ अर्व ३८ करोड ८४ लाख रुपैयाँको लगानी रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL