Logo

देशभर टेलिकमको फोरजी सेवा आरम्भ, अप्टिकल फाईबर विस्तारमा ढिलाइ नगर्न प्रम ओलीको निर्देशन

देशभर टेलिकमको फोरजी सेवा आरम्भ, अप्टिकल फाईबर विस्तारमा ढिलाइ नगर्न प्रम ओलीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालभर अप्टिकल फाईबर विस्तारमा ढिलाई गर्न नहुने बताएका छन । बुधबार नेपाल टेलिकमको फोरजी सेवा विस्तारको उद्घाटन गर्दै उनले अप्टिकल फाईबर विस्तारमा हुने ढिलाई आफुलाई मान्य नहुने बताएका छन ।

अप्टिकल फाईबरको काममा ढिलाई भएको गुनासो पछिल्लो समय बढेको भन्दै उनले यस्ता परियोजना हातमा लिएर जनतालाई दुख दिने काम नगर्न सरोकारवालालाई निर्देशन दिएका हुन । ‘परियोजनालाई व्यवसाय ठानेर हातमा लिने प्रवृत्ती मलाई मान्य हुँदैन,’ उनले भने, ‘त्यसैले जतिसक्दो चाँडो आफ्नो काम सम्पन्न गर्न आजै निर्देशन दिन्छु ।’

यस्तै कार्यक्रममा बोल्दै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अबको १८ महिनाभित्र अप्टिकल फाईबर विस्तारमा देखिएका उल्झनलाई अन्त्य गर्ने बताएका छन । उनल उक्त उल्झन हटेसँगै काम सम्पन्न गर्नेतीर मन्त्रालय लगायत टेलिकम पनि लागिपरेको बताएका छन । उनले फाईबर टु दी होम (एफटीटीएच) का ग्राहक ४ लाख बढी पुर्याउने गरी काम अघि बढाएको जानकारी दिएका छन ।

नेपाल टेलिकमको फोरजी सेवा बुधबारदेखि सातै प्रदेशका ५९ जिल्लाबाट संचालनमा आएको छ । टेलिकमले हालसम्म कोर नेटवर्क पुर्याएका सबै स्थानमा फोरजी सेवा संचालनमा ल्याएको हो । टेलिकमले हालसम्म विभिन्न ३६ जिल्लाका ५९ ओटा सहरमा उक्त सेवा सुचारु गरेको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सामुहिक भिडियो च्याट गरी उक्त फोरजी सेवाको उद्घाटन गरेका हुन ।

टेलिकमको फोरजीको स्पिड हाल काठमाडौंमा डाउनलोड ३ सय ३५ एमबी प्रतिसेकेन्ड र अपलोड ३४ दशमलव १ एमबी प्रतिसेकेन्ड रहेको छ । टेलिकमले हाल ८ सय मेगाहर्ज र १८ सय मेगाहर्ज फ्रिक्वेन्सी व्याण्डमार्फत फोरजी सेवा संचालनमा ल्याएको छ । यस्तै कम्पनीले सेवा विस्तारसँगै २३ सय मेगाहर्ज व्याण्डसम्म विस्तार गर्न सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL