Logo

काभ्रेमा १ अर्ब लगानीमा पर्यटक स्मारक पार्क बन्दै, मन्त्री अधिकारी सहितको शालिक रहने

काभ्रेमा १ अर्ब लगानीमा पर्यटक स्मारक पार्क बन्दै, मन्त्री अधिकारी सहितको शालिक रहने



काठमाडौं । पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल रहेका मजदुर पर्यटकहरुको सम्झनामा काभ्रेको तिमालमा ‘पर्यटन स्मारक पार्क’ निर्माण हुने भएको छ । तिमाल गाउँपालिका र ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान) को सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उक्त पार्क निर्माण हुन लागेको हो ।

पर्यटन क्षेत्रमा ज्यान गुमाएका मजदुर तथा पर्यटन क्षत्रमा योगदान पुर्याएको ब्यक्तिहरुको सम्झनामा सो पार्क निर्माण गर्न टानले सन् २००८ मानै यसको अवधारणा ल्याएको हो । पर्यटन ब्यवसायीहरुको छलफल पछि तिमालमा उक्त पार्क बनाउन सहमति भएसँगै अवलोकन भ्रमण समेत गरि काम अगाडी बढाएको हो । पछिल्लो समयमा टानले सोही क्षेत्रलाई गन्तब्य बनाएर ट्रेकिङ समेत संचालन गरिसकेको छ ।

आफ्नै मौलिकता भएको तिमाल क्षेत्रलाई ‘ग्रेड बुद्धिष्ट मास्टर्स ट्रायल’ भनेर पनौती, तिमाल, महाभारत क्षेत्रलाई समेटेर ५ दिनदेखि करिब २ हप्ता सम्मको ट्रेकिङ, पदयात्रा मार्ग खोलिएको र यसैलाई समेटेर नै उक्त पार्क बनाउन लागिएको टानले जानकारी दिएको छ । अहिले टानले सो क्षेत्रमा प्राविधिकहरु सहित गएर जग्गाको पहिचान गरि त्यहाँ बन्ने भौतिक संरचनाहरुको नक्सांकन समेत गरेको छ । पुमोरी इन्जिनियरिङ सर्भिस प्रालिले उक्त पार्कको डिजाईन समेत तयार गरिसकेको छ ।

तिमाल गाउँपालिकाका अध्यक्ष समेत रहेका सलामसिंग लामाले आउने आर्थिक वर्षमा करिब १ करोड रुपैया बजेट विनियोजन गर्ने बताएका छन । लामाका अनुसार प्रदेश सरकारले मात्रै उक्त पार्क र सो स्थानसम्म पुग्ने सडकको लागि १ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन ।

यस्तो बन्ने छ पर्यटक स्मारक पार्क

उक्त पार्कमा बैठक हल, संग्राहलय, भ्युटावर, स्मारक स्तम्भ, पिक्निक स्पोर्ट तथा पर्यटन क्षेत्रमा योग्दान दिएको ब्यक्तिहरुको शालिक निर्माण हुने भएको छ ।

पछिल्लो समयमा टानले उक्त पार्क बनाउनको लागि सरकारी निकाय तथा विभिन्न संघसंस्थाहरुलाई आर्थिक रकम जुटाउन समेत सहयोग माग गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा आर्थिक जुटाउन नसकेको टानले संघसंस्थाहरुलाई आर्थिक रकम जुटाउन सहयोग मागेको हो ।

सोका लागि नेपाल पर्यटन बोर्डले गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ र चालु आवमा १० लाख रुपैयाँ रकम उपलब्ध गराएको टानका पूर्व महासचिब कर्ण लामाले जानकारी दिएका छन । वोर्डको उक्त रकमबाट सो पार्क क्षेत्रमा सडक तथा भर्याङ (सिढी) निर्माण भईसकेको समेत उनले बताए ।

त्यस्तै निजीक्षेत्रबाट माग भए अनुसार प्रदेश सरकारले समेत सो क्षेत्रका लागि ५० लाख, संसदीय विकास कोषबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको लामाले जानकारी दिएका छन । प्रदेश सरकारबाट विनियोजन भएको उक्त रकमले भ्यु टावर र विकास कोषको रकमले संग्राहलय निर्माण गर्ने लामाले जानकारी दिएका छन । रकम अभाव भए पछि टानले दातृ निकायहरु र विभिन्न राजदूतवासहरुमा सहयोगको लागि पत्रचार समेत गरेको जानकारी दिएको छ ।

पार्कमा पर्यटन क्षेत्रमा सहयोग गर्ने तथा आरोहीहरुको शालिक रहने

पार्कमा सगरमाथा आरोही सर एडमन हिलारी, तेन्जीङ नोर्गे शेर्पा, पासङ ल्हामु शेर्पा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायतको शालिक रहने छ । साथै आरोहणको क्रममा मृत्यु भएका ब्यक्तिहरुको नाम भने शिलालेखमा राखिने भएको छ । शालिक निर्माणको जिम्मा भने नेपाल पर्वतारोहण संघलाई दिने तयारी गरेको समेत टानले जानकारी दिएको छ ।

ब्यवासायीहरुको अपिल

टानको ३६ औं वार्षिक साधरण सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समेत उक्त पार्क निर्माणको लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार प्रधानमन्त्री सचिवालयमार्फत सिफारिस भएर राष्ट्रिय योजना आयोगसम्म पुगेको थियो ।

पर्यटन मन्त्रालयबाट सिफारिस भएर करिब ५ करोड रुपैयाँ बजेट विनियोजन गर्ने तरखरमा रहेको थियो तर बजेट आउनु अगावै स्थानीय निर्वाचन भए पछि बजेट विनियोजन थाती रह्यो । तर अहिले आएर प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ लामाले जानकारी दिए ।

सबैको समर्थन र सहयोग मिलेको खण्डमा आगामी ५ वर्ष भित्र निर्माण गरि सक्ने योजना रहेको छ । निर्माणाधिन उक्त स्मारक पार्कमा हालै हेलिकप्टर दुर्घटनामा परि निधन भएका तत्कालिन बहलवाला पर्यटनमन्त्री अधिकारी तथा अन्य व्यक्तिहरुको सम्झना तथा सम्मानको लागि सालिक निर्माण गर्न नेपाल सरकारसँग पर्यटन व्यवसायीहरुले सार्वजानिक रुपमा अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL