Logo

सवारी विक्रीमा मोटरसाइकलको हिस्सा ८५ प्रतिशत, कार चढ्ने पनि बढे

सवारी विक्रीमा मोटरसाइकलको हिस्सा ८५ प्रतिशत, कार चढ्ने पनि बढे


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२२ माघ, काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा देशभरबाट १ लाख ३० हजार सवारीसाधन विक्री भएको छ । यो संख्या गतआवको सोही अवधिको तुलनामा ७ हजारले बढी हो । गत आवको सो अवधिमा कुल १ लाख २३ हजार सवारीसाधन विक्री भएको थियो ।

पछिल्लो समय नेपाली जनताको क्रयशक्तिमा बृद्धिभएसँगै सवारीसाधन विक्रीमा पनि बृद्धि भएको विभागले जनाएको छ । ‘नेपालका विकट क्षेत्रमा पनि वैदेशिक रोजगारीबाट रेमिट्यान्स भित्र्ने क्रम बढेको छ,’ विभागका एक अधिकारीले भने, ‘वैदेशिक रोजगारीमा गएर कमाएका पैसा मोटरसाइकल किन्न खर्च गर्दै आएका छन् ।’ सामान्य व्यक्तिले मोटरसाइकले किन्ने क्रम बढेको छ भने यस अघि मोटरसाइकल चढ्नेहरु कार तर्फ आकर्षित भएका छन् ।

चालू आवमा विक्री भएको कुल सवारी साधनको ८४ दशमलव ६ प्रतिशत हिस्सा मोटरसाइकलको रहेको छ । ६ महिनामा देशभरबाट विक्री भएको १ लाख ३० हजार सवारीसाधनमध्ये १ लाख १० हजार मोटरसाइकल रहेको यातायात व्यवस्था विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार समग्र सवारीसाधनमा मोटरसाइकलको विक्री बढी भएपनि गत वर्षको तुलनामा ३ हजार थान मात्र बढी हो ।

yatat-sectoral-data copy

विभागको तथ्याङक अनुसार कार तथा जीप चढ्ने संख्यामा पनि बृद्धि भएको छ । नेपाल अटोमोबाइल डिलर्श एशोसियशन (नाडा) का अध्यक्ष शेखर गोल्छा पनि देशको अर्थतन्त्रमा सुधार आएसँगै चारपाङ्ग्रे सवारीसाधन किन्नेको संख्यामा बृद्धि भएको बताउँछन् । ‘देशमा कार चढ्ने संख्या बढ्नु भनेको देशको अर्थतन्त्रमा सुधार आउनु हो,’ उनले भने, ‘पछिल्लो समय कार विक्री १५ प्रतिशतभन्दा माथी बढेको छ ।’

बागमती र नारायणीबाट सवैभन्दा बढी विक्री

चालू आवको ६ महिनामा बागमती र नारायणी अञ्चलबाट सवैभन्दा बढी सवारीसाधन विक्री भएको छ । सो अवधिमा बागमतीबाट झण्डै ४० हजार सवारीसाधन विक्री भएको छ । त्यस्तै, नारायणी अञ्चलबाट ३६ हजारा १ सय सवारीसाधन विक्री भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै, कोशी अञ्चलबाट १८ हजार ८ सय वटा सवारीसाधन विक्री भएको छ भने लुम्बिनीबाट १७ हजार १ सय वटा सवारीसाधन विक्री भएको छ ।

कार चढ्ने बढे

चालू आवको ६ महिनामा अघिल्लो आवको तुलनामा कार विक्री उच्च रुपमा बढेको छ । चालू आवमा कार तथा जीपको विक्री १८ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको छ महिनामा देशभरबाट ५ हजार ७ सय कार तथा जीप विक्री भएको थियो । तर, चालू आवको सोही अवधिमा सो संख्यामा बृद्धि भएर झण्डै ७ हजार पुगेको छ । आगामी दिनमा कार चढ्नेको संख्या अझै बढ्ने गोल्छा बताउँछन् ।

yatat-zonal-data copy

पूर्वाधार निर्माणका सवारीसाधनको विक्री बढ्यो

यस्तै, चालू आवमा डोजर, क्रेन, एक्साभेटर, टिप्पर, ट्रकजस्ता पूर्वाधार निर्माणमा प्रयोग हुने सवारीसाधनको विक्री पनि बढेको छ । गत आवको ६ महिनामा कुल १ हजार १ सय ६९ वटा त्यस्ता सवारीसाधन विक्री भएकोमा चालू आवको सोही अवधिमा १ हजार ५ सय ६५ वटा विक्री भएको छ । देशमा सडक, जलविद्युत्जस्ता पूर्वाधार निर्माणको काम अघि बढेसँगै त्यसमा प्रयोग हुने सवारीसाधनको विक्री पनि बढेको हो ।

राजस्व उठौती लक्ष्यभन्दा ११ प्रतिशत बढी

यातायात व्यवस्था विभागले चालू आवको ६ महिनामा राजस्व उठौतीमा पनि बृद्धि गरेको छ । विभागले सो अवधिमा कर राजस्व र गैर कर राजस्व गरी ५ अर्व ७९ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो रकम लक्ष्यभन्दा ११ प्रतिशतले बढी रहेको विभागले जानकारी दिएको छ । यस्तै, विभागले गत आवको सोही अवधिमा विभागले कर र गैर कर राजस्व गरी ४ अर्व ५९ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागले चालू आवको ६ महिनामा ३ अर्व १५ करोड ७९ लाख रुपैयाँ सवारी कर राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, सो अवधिमा विभागले ३ अर्व ४९ करोड ३१ लाख रुपैयाँ सवारी कर राजस्व उठाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL