Logo

सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा उत्खननको क्रम बढ्दो, राजस्व आम्दानी ६२ करोड

सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा उत्खननको क्रम बढ्दो, राजस्व आम्दानी ६२ करोड



काठमाडौं । नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो ।

laxmi

खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि ६ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् । चुनढुङ्गा लिने कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री, अग्नि सिमेन्ट, मेगा सिमेन्ट, सम्राट सिमेन्ट र पञ्चकन्या सिमेन्ट रहेका छन् ।

खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे पछिल्लो समय सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा, डोलोमाइट र खरीको खानी लिनेको संख्या बढेको बताउछन । उनले भने, ‘घर तथा भौतिक पूर्वाधार निर्माणका लागि सबैले सिमेन्ट प्रयोग गर्ने भएकाले पनि यसका लागि चुनढुङ्गा लिनेको क्रम बढेको हो ।’

आव २०७५/०७६ मा मात्र ४६ सिमेन्ट उद्योग तथा कम्पनीले चुनढुङ्गा उत्खनन गर्दै आएका छन् । चुनढुङ्गा उत्खननका लागि भित्री मधेश तथा पहाडी क्षेत्र राम्रो मानिन्छ । सरकारले आव २०७५/०७६ मा सबै खाले खानी उत्खननको राजस्वबापत मात्र ६१ करोड ८१ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै खनीजको नवीकरणबापत १५ करोड १८ लाख रुपैयाँ आम्दानी भएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL