Logo

काबेली कोरिडोर विद्युत लाइनको परीक्षण प्रशारण सुरु, सोमबारबाट लाईन चार्ज हुने

काबेली कोरिडोर विद्युत लाइनको परीक्षण प्रशारण सुरु, सोमबारबाट लाईन चार्ज हुने



काठमाडौं । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

laxmi

९० दशमलब ०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण सुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको हो ।

४२ दशमलब ८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज गरिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिएका छन । इलामको गोदकदेखि फिदिमको थापाटारसम्मको यस खण्डमा १२६ ओटा टावर रहेका छन ।

कोरिडोरको तेस्रो खण्ड फिदिम–अमरपुरमा भने टावर गाढ्ने काम पूरा हुन लागेको छ । उनले भने, ‘अब एउटा टावर मात्रै गाढ्न बाँकी रहेको छ ।’

आर्थिक वर्ष २०६२÷६३ बाट सुरु भएको आयोजनाको निर्माणकार्य भने २०६६÷६७ मा सुरु भएको थियो । पाँचथरको फिदिम र इलामको सिद्धिथुम्का क्षेत्रमा मुआब्जा वितरणमा विवाद हुँदा वर्षौँसम्म आयोजनाको निर्माणकार्य अवरुद्ध भएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ ।

यस्तै टावरका लागि आवश्यक पर्ने १ दशमलब ५३ हेक्टर वन क्षेत्रका रुख कटानी गर्न समयमै माथिल्ला निकायबाट आदेश नआउँदा आयोजनाको निर्माणकार्य एक दशकसम्म पुगेको हो ।

सो कोरिडोरअन्तर्गत चार सवस्टेशन निर्माण गरिएका छन । झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिम र पाँचथरकै अमरपुरमा । २५ करोड रुपैयाँ लागतले दमक सवस्टेशन सुरुमै निर्माण सम्पन्न भएको थियो ।

बाँकी तीन सवस्टेशन निर्माणको लागत ५५ करोड रुपैयाँ रहेको थियो । तीन वटै सवस्टेशन दुई वर्षअघि निर्माण सम्पन्न भइसकेका छन् । सबै सवस्टेशन चार्ज भई सञ्चालनका लागि तयार रहेको द्विवेदीले बताए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL