Logo

पुनर्कर्जाको प्राथमिकतामा मझौला उद्योग : ५० करोडको सिमा १० करोडमा झारिने, कर्जा दिने अधिकार सम्बन्धित बैंकलाई नै

पुनर्कर्जाको प्राथमिकतामा मझौला उद्योग : ५० करोडको सिमा १० करोडमा झारिने, कर्जा दिने अधिकार सम्बन्धित बैंकलाई नै



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको सिमा घटाउने भएको छ । राष्ट्र बैंकले पुनर्कर्जा सम्बन्धी मौजुदा कार्यविधीलाई परिमार्जन गर्दै यस अघि दिईदै आएको पुनर्कर्जाको ५० करोड रुपैयाँको सिमालाई घटाएर १० करोड रुपैयाँमा झारिएको नेपाल राष्ट्र बैंकका नियमन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

‘हामी पुनर्कर्जाको कार्यविधी परिमार्जनका लागि मस्यौदा तयारीको लागि अन्तिम चरणमा छौं,’ ढकालले भने, ‘अब १÷२ भित्रै उक्त मस्यौदा निजी क्षेत्रलाई दिएर सार्वजनिक रुपमा फिडब्याक माग गर्नेछौं ।’ साथै निजी क्षेत्रको फिडब्याकलाई समोवश गरेर पुनर्कर्जाको कार्यविधी परिमार्जन गरिने समेत ढकालले जानकारी दिए ।

हाल राष्ट्र बैंकले तयार पारेको कार्यविधीको मस्यौदा अनुसार उद्योगी व्यवसायीलाई पुनर्कर्जा प्रदान गर्ने अधिकार सम्बन्धित बैंकलाई नै दिईने भएको छ । यस अघि सम्बन्धित बैंकको सिफारिसमा राष्ट्र बैंकले फाइल अध्ययन गरेर पुनर्कर्जा दिँदै आएकोमा अबका दिनमा उक्त जिम्मेवारी सम्बन्धित बैंकलाई नै दिन लागिएको उनले जानकारी दिए ।

कोरोना पछिको लकडाउनका कारण विशेषगरी साना तथा मझौला उद्योग मारमा परेका कारण सोही अनुरुप कार्यविधी परिमार्जन गरी कर्जा प्रदान गर्न लाएिको समेत उनले जानकारी दिए । सोही अनुरुप यस अघि एउटा व्यवसायी कम्पनी वा ग्रूपलाई अघिकतम ५० करोड रुपैयाँसम्म पुनर्कर्जा दिँदै आएकोमा अबका दिनमा उक्त सिमालाई घटाए १० करोड रुपैयाँमा झार्न लागिएको समेत उनको भनाई थियो । तर कन्सोडिएम कर्जाको हकमा भने अन्य बैंकबाट पनि मिलाएर १० करोड रुपैयाँभन्दा बढी लिन सकिने छ ।

यस अघि पुनर्कर्जाले ठूला व्यवसायीलाई मात्र समेट्दै आएको कोराना पछि राष्ट्र बैंकले कोरोनाको असर पछि साना तथा मझौला उद्योगलाई प्राथमिकता दिएको हो ।

साथै पुनर्कर्जा उपभोग गर्ने समयावधिलाई भने यथास्थितीमै राखिने भएको छ । यस अघि राष्ट्र बैंकले पुनर्कर्जा उपभोगको समयावधि बढाएर १ बर्षको पुर्याएको थियो भने बढीमा एक पटक नविकरण गर्न सकिने व्यवस्था गरेको थियो । साथै पुनर्कर्जाको व्याजलाई समेत यथास्थितीमा राखिने ढकालले जानकारी दिए । तर पुनर्कर्जा लिने व्यवस्थालाई भने सलर र सहज बनाईने भएको छ ।

साथै यो महिना भित्रै पुनर्कर्जाको कार्यविधी परिमार्जन गरी कार्यान्वयनमा ल्याईने समेत ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL