Logo

७ महिना पछि लागू भयो ब्याजदर करिडोर, तरलता ब्यवस्थापनमा ७५ र २५ प्रतिशतको सीमा

७ महिना पछि लागू भयो ब्याजदर करिडोर, तरलता ब्यवस्थापनमा ७५ र २५ प्रतिशतको सीमा



काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको ब्याजदर करिडोरलाई आजदेखि कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको व्यवस्था गरेपनि आन्तरिक तयारीका कारणले गर्दा त्यसको ७ महिना पछि कार्यान्वयनमा ल्याएको राष्ट्र बैंक सार्वजनिक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादूर थापाले जानकारी दिए । ‘बजारमा अन्तर बैंक ब्याजदर उच्च रुपमा बढेसँगै आजबाट पूर्ण रुपमा ब्याजदर करिडोर कार्यान्वयनमा आएको छ,’ उनले भने, ‘त्यसैले आज पहिलो पटक सुचना जारी गरेर ब्याजदर करिडोर लागू गर्दै २ हप्ताका लागि ५ अर्ब रुपैयाँको रिपो जारी गरेका छौं ।’

ब्याजदर करिडोर कार्यान्वयनमा आएसँगै अल्पकालिन ब्याजदरलाई स्थायित्व दिन सहज हुने समेत उनले जानकारी दिए । बुधबार अन्तर बैंक भारित औषत अन्तर बैंक ब्याजदर बढेर ६ दशमलव १७ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको माथिल्लो सिमा ६ दशमशलव ५ प्रतिशत र तल्लो सिमा ३ दशमलव ५ प्रतिशत तय गरेको छ । जस अन्तरगत राष्ट्र बैंकले खुला बजारमा अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा माथी गएमा रिपो जारी गरी बजारमा तरलता पठाउने र साढे ३ प्रतिशतभन्दा तल झरेमा रिभर्स रिपोमार्फत तरलता खिच्दै आएको छ ।

यसैगरी राष्ट्र बैंकले तरलता व्यवस्थापनमा पनि नयाँ व्यवस्था लागू गरेको छ । ब्याजदर करिडोर कार्यान्वनयमा आएसँगै तरलता व्यवस्थापनमा नयाँ व्यवस्था लागू गरेको हो । ‘अबका दिनमा खुला बैंक बजार कारोबारमार्फत ७५ प्रतिशत र करिडोर मार्फत २५ प्रतिशत रिपो वा रिभर्स रिपो गरिने छ,’ उनले भने, ‘सोही अनुरुप मंगलबार खुला बैंक बजार कारोबार अन्तरगत १५ अर्ब रुपैयाँको रिपो जारी गरेका थियौं भने करिडोरमार्फत आज ५ अर्ब रुपैयाँ जारी गरियो ।’

बजारमा तरलता होइन पूँजी आवश्यक

कार्यकारी निर्देशक थापाले अहिले बजारमा तरलता भन्दा पनि पूँजीको आवश्यक भएको जानकारी दिएका छन् । ‘हामीले हिजो १५ अर्ब रुपैयाँको रिपो जारी गर्यो तर सोमध्ये ३ अर्ब ९३ करोड रुपैयाँको मात्र बिक्री भयो,’ उनले भने, ‘यसको मतलब अब बजारमा तरलता आवश्यक छैन लगानी योग्य पूँजी चाहिएको छ ।’

बैंकले पूँजी खोजिरहेको भएपनि सोही अनुरुप तत्काल लगानी योग्य पूँजी जेनेरेट गर्ने अवस्था नरहेको समेत उनले जानकारी दिए । ‘पूँजी जुटाउन मुख्य गरी ३ ओटा उपाय छन्,’ उनले भने, ‘जसमध्ये बैंकका लगानीकर्ता आफैले पूँजी थप्ने र निक्षेप संकलन गरी बढाउने बाटो लगभग बन्द भएको छ अबको अर्को उपाय भनेको सापटी लिने मात्रै हो ।’ अबका दिनमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले दिएको सुविधा अनुसार विदेशी बैंकसँग ऋण तथा सापटी ल्याएर पूँजी परिचालन गर्नुपर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL