Logo

नेपाली एटीएम बोक्नेको भारतमा बिचल्ली, राष्ट्र बैंक भन्छ, ‘बैंकहरु ग्राहकप्रति जिम्मेवार भएनन्’

नेपाली एटीएम बोक्नेको भारतमा बिचल्ली, राष्ट्र बैंक भन्छ, ‘बैंकहरु ग्राहकप्रति जिम्मेवार भएनन्’



काठमाडौं । ह्याकरका कारण नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सेवा अवरुद्ध भएसँगै नेपाली कार्ड बोकेर वदेश जाने नेपालीहरुको विजोक भएको छ । केही समय अघि नेपाल राष्ट्र बैंकले नेप्सको होस्टिङ र स्वीचमा समस्या आएसँगै विज्ञप्ती निकाल्दै बैकल्पिक उपाय अवलम्बन गर्दै ग्राहकको समस्या सम्बोधन गर्न निर्देशन दिएको थियो ।

laxmi

तर, बैंकहरुले उक्त निर्देशनको वेवास्ता गर्दै ग्राहकको समस्या संबोधन नगरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । ‘बैंकको प्रमुख कार्यकारी अधिकृतहरुमा ग्राहकको निक्षेप स्विकार गर्न होडबाजी गर्ने तर तिनै ग्राहकलाई समस्या परेर फोन गर्दा त्यस्ता फोन नउठाउने प्रवृति देखियो,’ उनले भने, ‘बैंकहरुले पछिल्लो समय ग्राहकप्रति देखाएको व्यवहारले बैंकहरु आफ्ना ग्राहकप्रति सम्वेदनशिल र सेवा दिन तत्पर छैनन् भन्ने देखाउँछ ।’ बैंकहरु ग्राहकको निक्षेप तान्दै व्याजमा लगाएर नाफा कमाउन मात्र तल्लिन भएको राष्ट्र बैंकको भनाई थियो ।

नेप्सको स्वीचमा समस्या आएसँगै नेपालका विभिन्न १८ वटा बैंक वित्तीय संस्थाका एटीएम कार्ड सम्बन्धित बैंककै एटीएम मेशिन बाहेक अन्त चल्दैनन । जसका कारण भारतमा उपचार तथा अध्ययनमा गएका र तेस्रो मुलुकमा पैसाको सट्टा प्रिपेड कार्ड, डेविड कार्ड तथा भिसा कार्ड बोकेर गएका नेपालीहरु अलपत्र नै परेको निरौलाले जानकारी दिए । ‘विशेषगरी भारतमा उपचार तथा अध्ययनका लागि गएका नेपालीहरुले कार्ड चल्न बन्द भएसँगै उनीहरुको रुवावासी नै चलेको छ,’ उनले भने, ‘अहिले दैनिकजसो भारतबाट राष्ट्र बैंकमा समस्या पर्यो भन्दै रुदै फोन गर्छन हामीले सम्बन्धित बैंकलाई भन्दियौं उनीहरुले वास्तै गर्दैनन् ।’

उनका अनुसार अहिले भारतका बैंकको कार्ड बोकेर उपचारमा गएका कतिपय बिरामीहरु औषधि समेत खान नपाएर विचल्लीमा परेका छन् । साथै लामो समय कार्ड नचल्दा अध्ययनका लागि गएका विद्यार्थीहरुले कलेजको फि तिर्न तथा दैनिक जीवनयापन गुजार गर्न कठिन भयो भन्दै राष्ट्र बैंकमा दैनिकजसो सयौं गुनासो आउने गरेको समेत उनले जानकारी दिए ।

एटीएममा समस्या आएसँगै धेरैजसो बैंकका सिईओ तथा उच्च तहका कर्मचारीले
समस्यामा परेका ग्राहकहरुले गरेको फोन समेत उठाउन छाडेको निरौलाले जानकारी दिए । ‘निक्षेप तान्न होडबाजी गर्ने बैंकरहरु अहिले ग्राहकलाई समस्या पर्दा फोन समेत उठाउन छाडेका छन्,’ उनले भने, ‘कतिपय बैंकका म्यानेजरहरुले यो समस्या हाम्रो होइन राष्ट्र बैंकको हो भनेर समेत पन्छिन थालेका छन् ।’

नेप्सेमा सुचिकृत १८ वटा बैंक वित्तीय संस्थामध्ये केहीले मात्र आफ्ना ग्राहकको समस्या संबोधन गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । विशेषगरी ग्लोबल आईएमई बैंक तथा प्रभु बैंकले भारतबाट रेमिट सेवा दिँदै आएको र उनीहरुका ग्राकले भारतस्थित रेमिट काउण्टरबाट सेवा लिँदै आएको समेत राष्ट्र स्रोतले जानकारी दिएको छ ।

नेप्सको सफ्टवेयर संचालनमा आउन अझै समय लाग्ने

यसैगरी निरौलाले नेप्सको सेवा संचालनमा आउन अझै समेत लाग्ने बताएका छन् । नेप्सले आफ्नो हार्डवेयर तथा सफ्टवेयर रिप्लेस गरेपछि परीक्षण नभइसकेकाले संचालनमा आउन अझै समय लाग्ने जानकारी दिएका छन् । ‘नेप्सका साथीहरुपनि आफ्नो सेवा सुचारु गर्न रातदिन लागिपरेका छन्,’ उनले भने, ‘नेप्सेले सफ्टवेयर र हार्डवेयर रिप्लेस गर्यो तर परीक्षण सफल भैसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL