Logo

पर्यटक भित्र्याउन कालीगण्डकी जलयात्रा महोत्सव सुरु, मन्त्रीले गरे उद्घाटन

पर्यटक भित्र्याउन कालीगण्डकी जलयात्रा महोत्सव सुरु, मन्त्रीले गरे उद्घाटन



काठमाडौं । कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा महोत्सव आयोजना गरिएको हो ।

laxmi

शुक्रबार मालुङ्गाबाट एकैसाथ १७ वटा र्याफ्टिङ डुङ्गामा मन्त्रीसहित जनप्रतिनिधि, कालीगण्डकी विकास अभियन्ता, राजनैतिक दल, उद्योग वाणिज्य संघ, नगरपालिका तथा गाउँपालिकाका कर्मचारी गरी १४६ जना कालीगण्डकीमा जलयात्रामा निस्केका थिए ।

कालीगण्डकीको पहिचान र प्रचार तथा नदीको महत्वलाई बचाएर बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन महोत्सवले ठूलो सहयोग पुग्ने कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताएका छन ।

करीब चार घण्टाको समय लगाएर भुजात सिद्धबाबा धामसम्म शुक्रबार साँझ जलयात्राको टोली पुगेको थियो । निजी संघसंस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलो पटक जलयात्रा सुरु भएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कालीगण्डकी नदी ड्राइभर्सन गरेर अन्यत्र लगिए कालीगण्डकीको तल्लो क्षेत्रमा ठूलो असर पुग्ने बताए । नदी ड्राइभर्सन भएको खण्डमा जलवायु, वातावरणीय, धार्मिक तथा सांस्कृतिक अस्तित्व नै मेटिने उनको भनाई थियो । उनले प्रदेश नं ४ र ५ को भविष्य कालीगण्डकीसँग जोडिएकाले पनि नदीलाई ड्राईभसन गरेर अन्यत्र लैजान नहुने बताए ।

कालीगण्डकीमा शुक्रबार शुरु भएको जलयात्रा महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले राम्दीबाट कालीगण्डकी नदी थुनेर नेपालका तराई र भारतीय भागमा लैजाँदा तल्लो भेगका जनतालाई असर पर्ने बताएका हुन । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले कालीगण्डकीको गरिमा र अस्तित्वलाई जोगाउन नदी महोत्सव कार्यक्रमले ठूलो सहयोग मिल्ने बताए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL