Logo

दिपायल विमानस्थल एक बर्ष पछि कालोपत्रे सम्पन्न, अन्य मर्मतको काम हुँदै

दिपायल विमानस्थल एक बर्ष पछि कालोपत्रे सम्पन्न, अन्य मर्मतको काम हुँदै



काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको विमानस्थलले जानकारी दिएको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित २०७४ मा निर्माणकार्य सुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको एक बर्ष पछि सकिएको हो ।

laxmi

विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम सुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, ‘हामीले विमानस्थलको पक्की गर्ने काम सकेका छौँ, धावनमार्गको काम पनि केही दिनमा सक्नेछौँ ।’ अहिले विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम शुरु भएको उनले जानकारी दिएका छन । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताए ।

उनले भने, ‘एक वर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दवाब दिएका कारण कालोपत्रको काम सकिएको हो, अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकायले समयमै ध्यन दिनु जरुरी छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचत सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल विमानस्थल कालोपत्रका लागि बजेट विनियोजन गरेको थियो । करीब साढे ५ करोड रुपैयाँको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम पाएको कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माणकार्य ढिला हुँदै आएको स्थानीयवासीको आरोप छ ।

विगतमा लक्ष्यअनुसार कालोपत्रको काम सुरु नहुँदा विमानस्थलको काम अलपत्र परेको थियो । अहिले बल्ल आएर कालोपत्रको काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, ‘विमानस्थलको काम अलपत्र पर्छ कि भन्ने सोचेका थियौँ, अहिले पक्कीको काम सकिएको छ, अब त जहाज चल्ला कि ?’ विमानस्थल कालोपत्रसँगै वरिपरिको जमीन सम्याउने, भवनमा रङरोगन लगाउने र गेट निर्माणको काम पनि सञ्चालन भइरहेको छ । दिपायलसँगै कालोपत्र निर्माण सुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परीक्षण उडानसमेत भइसकेको छ ।

उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आशामा त्यहाँका स्थानीयवासी खुशी भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुई विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटक भित्र्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायल पिपल्लाका होटल व्यवसायी नन्दनसिंह कार्कीले बताए । उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लाका दुई विमानस्थल दिपायल र पाटनमा नियमित जहाज चलाए यहाँको विकास आफैँ हुनेछ ।’

दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा, घटालथानलगायतका क्षेत्रमा पर्यटक भित्र्र्याउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी कृष्ण महराले बताए । उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन, विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो हुनेछ ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL