Logo

थप दुई एयरलाइन्सले अन्तरराष्ट्रिय उडान अनुमति पाउने, सिता र सिम्रिक एयरलाइन्स योग्य

थप दुई एयरलाइन्सले अन्तरराष्ट्रिय उडान अनुमति पाउने, सिता र सिम्रिक एयरलाइन्स योग्य



काठमाडौं । आन्तरिक हवाई सेवा प्रदान गरिरहेका थप दुई कम्पनीलाई अन्तरराष्ट्रिय उडानको अनुमति दिने तयारी भइरहेको छ । सरकारले हवाई उडान अनुमति सम्बन्धि कार्यविधि परिमार्जन गर्दै यस्तो अनुमति उपलब्ध गराउने भएको हो । हाल मन्त्रिपरिषदको पूर्वाधार समितिमा छलफलमा रहेको उक्त कार्यविधि बैठकबाट पारित हुनासाथ कार्यान्वयनमा आउनेछ ।

कार्यविधिमा पाँच वर्षससम्म नियमित उडान गरिरहेका दुई आन्तरिक सेवा प्रदायकलाई अन्तरराष्ट्रिय उडान अनुमति दिन सकिने व्यवस्था गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सह प्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिए ।

यस्तो व्यवस्थासँगै पाँच वर्ष बढी आन्तरिक उडानको अनुभव रहेका सिता र सिम्रिक एयरलाइन्सले अनुमति पाउने सम्भावना रहेको हो । पाँच वर्ष अघि आन्तरिकको उडान अनुमति लिएको तर बीचमा उडान सेवा सुचारु गर्न नसकेका कम्पनीले अनुमतिका लागि प्रस्ताव पेश गर्न सक्ने छैनन् । यसै आधारमा पनि यी दुई कम्पनीमात्र योग्य देखिएका छन् ।

‘अनुमति कहिले लिए यो महत्वपूर्ण होईन । अनुमति लिए पछि निरन्तर सेवा दिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो’, ढकालले भने ।
नयाँ कार्यविधिअनुसार एयरलाईन्सहरुको बजार हिस्सा, प्राविधिक कुरा, जहाज कसरी ल्याउने र कसरी एक्युजिसन गर्ने, र लगानीको तरिका अध्ययन गरेर मन्त्रालयले अनुमति दिन सक्ने उनले बताए ।

ढकालका अनुसार कम्तिमा ५ वर्ष आन्तरिक उडान गरेका एयरलाईन्सहरुको मन्त्रालयले मूल्याङकन गर्छ । मन्त्रालयले गरेको मूल्याङ्कनमा व्यवसायिक योजना, बजार अनुगमन, प्राविधिक अध्ययन, एयरलाइन्सको वित्तीय अवस्थामा कम्तिमा पनि ६० प्रतिशत अंक ल्याउनु पर्नेछ ।

अन्तरराष्ट्रिय उडानमा विदेशी एयरलाइन्सको व्यापार हिस्सा करिब ९० प्रतिशत रहेकोले यसलाई न्युनिकरण गर्न भए पनि नेपाली एयरलाइन्सहरुलाई अन्तरराष्ट्रिय उडान अनुमति दिन लागिएको ढकालले बताएका छन । अबको ५ वर्षभित्र नेपाली एयरलाइन्सको बजार हिस्सा ६० प्रतिशत पुर्याउन सरकारले लिएको लक्ष्य भेटाउन पनि कार्यविधि परिमार्जन गरेको उनले बताए ।

हाल नेपाल एयरलाइन्स, हिमालय र बुद्ध एयरलेमात्र अन्तरराष्ट्रिय उडान गरिरहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL