Logo

बियरिस ट्रेण्डको संकेत दिँदै पूँजी बजार, कारोबार र परिसुचक दुबै ओरालो

बियरिस ट्रेण्डको संकेत दिँदै पूँजी बजार, कारोबार र परिसुचक दुबै ओरालो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचकले बियरिस ट्रेण्डको संकेत दिएको छ । पछिल्लो समय बजारमा दैनिक रुपमा नेप्से परिसुचक र कारोबार दुबै ओरालो लागेसँगै बजारले बियरिस ट्रेण्ड समात्न थालेको लगानीकर्ताहरु बताउँछन् ।

यो साता ३ दिन सेयर बजार खुलेकोमा सबै दिन परिसुचक ओरालो लागेको छ भने कारोबार रकम पनि सोही अनुरुप घटेको छ । कुनै समय दैनिक २ अर्ब रुपैयाँभन्दा माथी पुगेको बजार अहिले खुम्चिँदै ४० करोड रुपैयाँभन्दा तल झरेको छ ।

कुल ३ दिन खुलेको बजारमा झण्डै ३४ अंकको गिरावट आएको छ भने सो अबधिमा कारोबार रकम पनि १ अर्ब रुपैयाँमा सिमित भएको छ ।

बजारमा लगानी योग्य पूँजी (तरलता)को अभाव हुनु, बैंक वित्तीय संस्थाले साधारण बचत र मुद्दती बचतमा उच्च ब्याज दिँदै जानुजस्ता कारणले गर्दा बजारले तत्काल गति लिन नसक्ने एक लगानीकर्ताले बताए । ‘केही बर्ष यताको ट्रेण्ड हेर्दा पुसमा घटेको बजारमा माघमा अझै बढी घटेको देखिन्छ,’ ती लगानीकर्ताले भने, ‘झन् यसपटक उच्च ब्याज र लगानीयोग्य पूँजीको अभावले गर्दा सेयर बजारलाई असर पार्ने छ ।’

यसैगरी पछिल्लो समय बजार घट्नुमा नियमक निकायको कमजोरी रहेको लगानीकर्ताहरुको आरोप छ । नियमक निकायले पूँजी बजार सुधारका लागि धेरै खाका तयार पारेको तर कुनै पनि कामलाई गति नदिएका कारण उनीहरुमाथी लगानीकर्ताको विश्वास गुम्न पुगको एक लगानीकर्ताले जानकारी दिए । ‘नियामक निकायले धेरै पहिलेदेखि अनलाईन ट्रेडिङ, सेयर बजारमा गैर आवासीय नेपाली तथा वदेशिक लगानी भित्र्याउँने कुरा गर्दै आएका छन्,’ उनले भने, ‘तर अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन ।’

यदि बजारमा लगानीयोग्य पूँजीको अभाव नहट्ने तथा नियामक निकायले सुधारका कार्यलाई गति नदिने हो भने अबका दिनमा बजारले गति लिन नसक्ने लगानीकर्ताहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL