Logo

महामारीमा मुट्ठी खोल्दैं गैरआवासीय नेपाली, यसरी गर्दैछन् नेपाललाई विश्वभरबाट सहयोग

महामारीमा मुट्ठी खोल्दैं गैरआवासीय नेपाली, यसरी गर्दैछन् नेपाललाई विश्वभरबाट सहयोग



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ ।

laxmi

नेपाल सरकारलाई यसअघि नै १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्वता गरेको संघले त्यसबाहेक पनि ‘एनआरएनए कोभिड–१९ राहत कोष’को स्थापना गरी आर्थिक सहयोग संकलन अभियान अगाडि बढाएको हो ।

संघका अध्यक्ष कुमार पन्तले कोषमा संकलन हुने रकम आवश्यकता अनुरुप नेपाल र नेपाल बाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने बताए । संघले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेटमार्फत तथा एनआरएनए रेस्पेक्ट आइएनसी डट नेट वेभसाइटमा गई अनलाइनमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ । साथै संघले सानिमा बैंकमा खोलेको संघको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

अध्यक्ष पन्तका अनुसार कोषमा सहयोग संकलनको कार्य तीव्र भइरहेको छ । संघअन्तरगत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुलेसमेत आर्थिक सहयोग कोष बनाएर ती देशहरुमा आर्थिक सहयोग संकलन गरिरहेको अध्यक्ष पन्तले जानकारी दिएका छन । आर्थिक सहयोग संकलन अभियानबाट यति नै रकम उठाउने भनी लक्ष्य नराखिएको भए पनि करिब ३ करोड रुपैयाँ जम्मा हुने अपेक्षा राखिएको संघले जानकारी दिएको छ ।

संघले गैरआवासीय नेपाली संघ दक्षिण कोरिया शाखाले खरिद गरेको करिब १ करोड बढी बराबरको स्वास्थ्य सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ भने पूर्ववत १ करोड सहयोगको प्रतिबद्वताअनुरुप नेपाल सरकारले भनेबमोजिम थप आवश्यक सामग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिएका छन ।

संघले निर्माण गरेको कोभिड–१९, एनआरएनए उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका अध्यक्ष पन्तले अहिलेको यो विषम परिस्थितिमा सबै एक भएर अघि बढ्नुपर्ने बताए । उनले अन्तरराष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषदमार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थीदेखि सबै नेपालीलाई आवश्यक सहयोगको काम भइरहेको जानकारी दिएका छन । संघको हालसम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको छ ।

विश्वभर करिब ८० लाख गैरआवासीय नेपाली रहेको बताइन्छ । पछिल्लो समय कोभिड–१९ महामारीको प्रकोप बढिरहेको अमेरिका तथा युरोपका देशहरुमा गैरआवासीय नेपालीको बसोबास बढिरहेको छ । कोभिड–१९ को संक्रमणका कारण पाँच जना गैरआवासीय नेपालीको ज्यान गइसकेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL