Logo

बीमा समुह उचालिदा २१ अंकले बढ्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार

बीमा समुह उचालिदा २१ अंकले बढ्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उत्साहजनक रुपमा बढ्नुका साथै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा २२ दशमलव ३९ अंकले बढ्न पुगेको छ ।

laxmi

बजार दोहोरो अंकले बढ्दा समग्र नेप्से परिसुचक १३ सय अंक पार गर्दै १३ सय १४ अंकमा पुगेर अडिएको छ । बजारमा बीमा समुहको परिसुचकमा उच्च वृद्धि हुँदा समग्र नेप्से परिसुचक बढ्न पुगेको हो । बजारमा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ९ अंकले घट्दा पनि जीवन बीमा समुहको परिसुचक ६ सय २९ अंक र निर्जीवन बीमा समुहको परिसुचक ४ सय ४२ अंकले बढ्दा समग्र नेप्से परिसुचक उचालिन पुगेको हो ।

यसैगरी बजारमा लघुवित्त समुहको परिसुचक ९१ अंकले बढ्दा होटल समुहको परिसुचक ९० अंकले उकालो लागेको छ । बजारमा जलविद्युत समुहको परिसुचक ६२ अंकले बढ्दा उत्पादनमुलक समुहको परिसुचक ४६ अंकले उकालो लागेको छ ।

दोहोरो अंकले बढेको बजारमा पछिल्लो समययताको सबैभन्दा उच्च कारोबार भएको छ । बजारमा १ अर्ब ६७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी नेपाल बैंकको २३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेपाल बैंकको सेयरमा उच्च कारोबार हुन पुगेको हो ।

नेपाली सेयर बजारमा पछिल्लो समय भारतीय लगानीकर्ताको प्रवेशसँगै बजारमा दैनिक रुपमा उच्च कारोबार भएको सम्बद्ध लगानीकर्ताले जानकारी दिएका छन् । विशेषगरी भारतीय नागरिकता बोकेका नेपाली र केही भारतीय व्यापारी तथा राजनीतिक दलका उच्च नेताहरुले नेपाली व्यवसायी र नेताहरुलाई नै प्रयोग गरी सेयर बजारमा प्रवेश गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

बजारमा छिमेक लघुवित्त, प्राईम कमर्सियल बैंक, नेको इन्स्योरेन्स, एनएमबी बैंक लगायतका कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बजारमा दिनभर १ सय ६७ कम्पनीको ४९ लाख २१ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL