Logo

४ दिनमा ८१ अंकले घट्यो नेप्से, फेरी चिप्लिए साना लगानीकर्ता, कारोबार रकमले पनि दिएन साथ

४ दिनमा ८१ अंकले घट्यो नेप्से, फेरी चिप्लिए साना लगानीकर्ता, कारोबार रकमले पनि दिएन साथ



काठमाडौं । अघिल्लो हप्ता र यो हप्ताको पहिलो दिनसम्म लगातार बढेको नेप्से परिसुचक त्यसयता क्रमश ओरालो लागेको छ । सोमबारबाट घट्न सुरु गरेको नेप्से परिसुचक ४ दिनमा ८१ अंकले घटेको हो ।

केही समय बजार लगातार बढाएर साना लगानीकर्ता बजार प्रवेश गरेसँगै नेप्से पुन घट्न सुरु गरेको एक लगानीकर्ताले बताए । ‘नेप्से परिसुचक १ हजार १ सय ६८ अंकबाट करिब २ सय अंकसम्म ह्वात्तै बढाए जहाँ साना लगानीकर्ताले प्रवेश नै गर्ने मौका पाएनन्,’ ती लगानीकर्ताले भने, ‘पछिल्लो १ सय अंक बढ्दा प्रवेश गरेका साना लगानीकर्ता फेरी मर्कामा परेका छन् ।’

केही समय च्याखेमा चलेको नेप्सेमा पुनः च्याखे थाप्ने काम सुरु भएको सम्बद्ध लगानीकर्ताहरुको गुनासो छ । पछिल्लो समय बजारमा दैनिक उतारचढाव आउँदै अन्तमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक र कारोबार रकम दुबै आरालो लागेपछि त्यसले पछिल्लो समय प्रवेश गरेका साना लगानीकर्ताहरु अझै समस्यामा परेका छन् ।

साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा २९ दशमलव २५ अंकको गिरावट आयो । जसमा कारोबार रकम पनि आधाले घट्दै ६३ करोड ८४ लाख रुपैयाँमा खुम्चिएको छ ।

बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक २ सय ३१ अंकले घटेको छ भने बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि २१ दशमलव ४२ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा लघुवित्त समुहको परिसुचक ४३ अंकले घट्दा विकास बैंक समुहको परिसुचकमा पनि सोही अनुरुप ३४ दशमलव ७५ अंकको गिरावट आएको छ । फाइनान्स समुहको परिसुचक ११ अंकले घट्दा जलविद्युत ४६ र होटल समुहको परिसुचक ४७ अंकले घट्न पुगेको छ ।

बिहीबार दिनभर कुल १ सय ५९ कम्पनीको १३ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा नेपाल बैंक, राष्ट्रिय बीमा कम्पनी लगायतको सेयर खरिदबिक्री बढि भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL